विराटनगर : विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगितामा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ।
बुधबार शहीद मैदानमा भएको पहिलो सेमिफाइनलमा झापाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो।
झापाको जितमा फागुराम थारूको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ मा आएको बललाई नियन्त्रण गर्दै गरेको शक्तिशाली प्रहार जालीमा परिणत भएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन।
यससँगै झापाले एक दशकअघिको हारको बदला पनि लिएको छ। २०७२ सालको फाइनलमा यिनै दुई टोलीबीच भएको भेटमा पुलिस १–० ले विजयी भएको थियो। ठीक १० वर्षपछि झापाले सोही स्कोरमा पुलिसलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। सुरुआती समयमा पुलिसले खेलमा पकड बनाए पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेन। सञ्जीव लामा, प्रज्वल चौधरी र धीरेन्द्र शाहका प्रहार लक्ष्यमा नपुग्दा पुलिस अग्रता लिन असफल रह्यो।
झापा ११ का स्वलोमन किङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
अब झापाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
View : 55
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved