Biratnagar, Morang, Nepal
सामाजिक सेवा

जेसीज तालिम सप्ताहमा स्टार्टअपदेखि एआईसम्म

-
अखवारका कुरा
७ असोज २०८३, बुधवार

Advertisement

 

विराटनगर । विराटनगर जेसीजले तालिम सप्ताहअन्तर्गत बुधबार विद्यार्थीलाई उद्यमशील सोच र पत्रकारलाई समाचार कक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी प्रशिक्षण दिएको छ।

जेसीज भवनमा आयोजित ‘स्टार्ट अप माइन्ड सेट’ तालिममा कक्षा ११ र १२ का विद्यार्थीलाई उद्यमशीलता, नयाँ सोच र अवसर पहिचानसम्बन्धी प्रशिक्षण दिइएको थियो। विराट नर्सिङ होमकी सीओ डा. निकिता कार्कीको प्रमुख आतिथ्यमा भएको तालिममा जेसीआई टट जेसी मनोज तिवारी र जेसी अभिषेक गौतमले प्रशिक्षण दिएका थिए।

हिमालय दर्शन, इडेनबर्ग, ग्रीनल्यान्ड र अर्किड स्कुलका कक्षा ११ र १२ का विद्यार्थी तालिममा सहभागी थिए। तालिम संयोजक जेसी पवन काफ्लेले विद्यार्थीमा सुरुदेखि नै उद्यमशील सोचको विकास गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए।

यस्तै, नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सञ्चालित ‘एआई फर न्युजरुम’ तालिममा पत्रकारलाई समाचार कक्षमा एआई प्रविधिको प्रयोगबारे प्रशिक्षण दिइएको थियो। इन्जिनियर अनुराग श्रेष्ठले समाचार खोजी, सामग्री तयारी तथा पत्रकारितामा एआईको व्यावहारिक प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए। तालिममा विराटनगरका पत्रकारहरूको उल्लेख्य सहभागिता थियो।

जेसीआई सिनेटर फूलकुमार लालवानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष, बोर्ड सदस्य तथा जुनियर जेसीज सदस्यहरूको समेत उपस्थिति थियो।

तालिम सप्ताहअन्तर्गतका दुवै कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको विराटनगर जेसीजका अध्यक्ष जेसी कविराज दहालले बताए। कार्यक्रमबारे जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलले जानकारी दिएकी हुन्।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved