लायन्सको सेवा
विराटनगर — देशको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेपालका पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइराला र विश्वव्यापी सेवा अभियान लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको योगदानलाई सम्मान गर्दै अर्धकद सालिक अनावरण गरिएको छ।
विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमको प्राङ्गणमा मंगलबार आयोजित समारोहबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली र लायन्स क्लब इन्टरनेशनलका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा सालिकको अनावरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय डाइरेक्टर बुर्लाकोटीले भने, “मेल्भिन जोन्सले विश्वमा लायन्स क्लबमार्फत समाजसेवाको नयाँ पहिचान दिलाए भने, नेपालमा मात्रिका प्रसाद कोइरालाले सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको आधार निर्माण गरे।”
लायन्स क्लब अफ इन्नोभेटिभ विराटनगरको आयोजनामा सम्पन्न यस कार्यक्रममा सालिक निर्माणमा लायन अजिता बराल र पूर्व डिष्ट्रिक्ट गभर्नर भीम घिमिरेको उल्लेखनीय सहयोग रहेको क्लबले जनाएको छ।
क्लब अध्यक्ष रन्जिता खनाल पराजुलीका अनुसार सालिक निर्माणको समन्वय तथा संयोजन आफैंले नेतृत्व गरेकी हुन्। उनका अनुसार यो पहल सामाजिक परिवर्तनमा योगदान दिने महान् व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै युवा पुस्तालाई सेवा, समर्पण र नेतृत्वका मूल्यतर्फ प्रेरित गर्ने उद्देश्यले गरिएको हो।
"सालिक केवल ढुंगाको मूर्ति होइन, यो समर्पण, त्याग र सकारात्मक परिवर्तनको प्रेरणा हो," अध्यक्ष पराजुलीले भनिन्।
कार्यक्रमले सामाजिक चेतना, कृतज्ञता र अनुकरणीय नेतृत्वलाई उजागर गर्दै सेवा भावनामा आधारित नागरिक समाजको परिकल्पना प्रतिविम्बित गरेको सहभागीहरूको धारणा थियो।
View : 1743
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved