Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

प्रधानमन्त्री ओलीको राजीनामा : सडकबाट सिंहदरबारसम्मको दबाब

-
अखवारका कुरा
२४ भदौ २०८२, मङ्गलवार

Advertisement

मंगलबार दिउँसो सिंहदरबारको वातावरण असामान्य थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमार्फत राजीनामा दिएको खबर बाहिरिँदै गर्दा राजधानीको सडकमा हजारौं आन्दोलनकारी अझै नाराबाजी गरिरहेका थिए । केही दिनयता निरन्तर चर्किएको जेनजी आन्दोलनको चपेटाबाट मुलुक निस्कन सकेन र अन्ततः प्रधानमन्त्रीलाई पद त्याग्न बाध्य बनायो ।

सुरुआतमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको विरोध छोटो समयमै भ्रष्टाचार र सत्ता सञ्चालन शैलीविरुद्धको आक्रोशमा बदलियो । आन्दोलन नियन्त्रण गर्न सुरक्षाकर्मीलाई मैदानमा उतार्दा उल्टै स्थिति बिग्रियो । गोली लागेर युवाहरूको ज्यान जाँदा राजधानीदेखि गाउँसम्म सरकारप्रति आक्रोश उर्लियो ।

राजधानीको माइतिघरदेखि विराटनगर, पोखरा, नेपालगञ्जसम्म जेनजी पुस्ताले उभ्याएको भीडले सरकारलाई नै हल्लाइदियो । प्रहरीको लाठी र अश्रुग्यासले रोक्न खोजिएको आन्दोलन उल्टै जनसागरमा परिणत भयो । यही दबाबबीच प्रधानमन्त्री ओलीले अन्ततः सिंहदरबार छोड्ने घोषणा गरे ।

ओलीको राजीनामाले मुलुक अब नयाँ राजनीतिक यात्रातर्फ मोडिएको संकेत दिएको छ । एमालेभित्र नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न झन् पेचिलो बनेको छ भने, विपक्षी दलहरू पनि नयाँ समीकरणका लागि सक्रिय देखिन थालेका छन् । तर आन्दोलनकारीहरूका लागि ओलीको राजीनामा यात्रा अन्त्य होइन, सुरुवात मात्र हो । उनीहरूले संरचनागत सुधार र पारदर्शी शासन प्रणालीको माग जोडतोडले उठाइरहेका छन् ।

आजको दिनलाई धेरैले ऐतिहासिक मोडको रूपमा चित्रण गरेका छन् । प्रधानमन्त्रीको राजीनामा सडकबाट उठेको आवाज सिंहदरबार भित्र पस्दा कस्तो असर पार्छ भन्ने कुरा भने अझै अनिश्चित छ । तर एक कुरा स्पष्ट छ ,जनताको दबाबले फेरि पनि मुलुकको राजनीतिक दिशालाई निर्णायक ढंगले प्रभावित पारेको छ ।

View : 147

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved