रथ यात्राको तयारी तिब्र
विराटनगर
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट, भदौ १ गते विराटनगरमा हुने श्रीराधाकृष्ण रथयात्रालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको छ।
विराटनगर महानगरपालिकामा आयोजित बैठकमा महानगर , राधाकृष्ण मन्दिर समिति, प्रहरी प्रशासन, महानगर प्रमुख, विभिन्न शाखा प्रमुख, नेपाल विद्युत प्राधिकरण, टेलिकम, खानेपानी, इन्टरनेट प्रदायक संस्था तथा केबल सञ्चालक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा रथयात्रालाई बाधारहित, सुरक्षित र भव्य बनाउन गहन छलफल गरिएको थियो। सहभागीहरूले रथयात्रा मुलुककै सांस्कृतिक गौरव र धार्मिक पहिचान भएकाले श्रद्धा, सुरक्षासहित सफल बनाउन सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा राखे।
रथयात्रा हुने मार्गहरूको पूर्व निरीक्षण, सम्भावित जोखिम व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विद्युत, पानी, संचार सेवा सुनिश्चितता तथा सुरक्षाकर्मी परिचालन जस्ता विषयमा समन्वय गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
रथयात्राको भीडको मौका छोपेर हुने चोरी तथा अनैतिक क्रियाकलाप रोक्न मिडिया र सामाजिक सञ्जालमार्फत सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकमा लिइएको छ।
बैठकमा मेयर नागेश कोइराला,जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , मन्दिर समिति अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर तिवारी, सचिव कृष्ण कार्की, मन्दिर सचिव निर्मल पौडेल, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।
रथयात्रा यही भदौ १ गते संचालन हुनेछ ।
View : 58
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved