विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–५ को वडा सभापतिमा सिताराम भट्टराई फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
बुधबार सम्पन्न मतगणनामा भट्टराईले २४५ मत प्राप्त गर्दै वडा सभापतिमा स्पष्ट जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी प्रभाकर कार्कीले १०५ मत प्राप्त गरे। अन्य उम्मेदवार रमेशकुमार रेग्मीले ४८ र राखी कार्कीले २४ मत पाए।
सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट भट्टराई वडा सभापतिमा निर्वाचित भएका हुन्।
निर्वाचित भएपछि भट्टराईले आफूलाई मत दिएर विजयी गराउनेसहित निर्वाचनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे। उनले अब निर्वाचनको प्रतिस्पर्धालाई यहीँ टुंग्याएर वडाका सबै नेता–कार्यकर्ता र क्रियाशील सदस्यलाई साथमा लिएर कांग्रेसको संगठन बलियो बनाउने बताए।
‘निर्वाचनमा प्रतिस्पर्धा भयो, अब सबैलाई मिलाएर अघि बढ्ने हो,’ भट्टराईले भने, ‘वडामा कांग्रेसलाई थप एकताबद्ध र बलियो बनाउँदै सबैको भावना समेटेर काम गर्नेछु।’
भट्टराईको जितसँगै विराटनगर–५ मा कांग्रेसको वडा नेतृत्वको जिम्मेवारी अब नयाँ नेतृत्वमा पुगेको छ।
View : 52
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved