नीति तथा कार्यक्रम
विराटनगर — कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीका जन्मस्थल तथा घर संरक्षणका लागि विशेष योजना अघि सारेको छ। ‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष र प्रधानमन्त्रीका व्यक्तित्वहरूको सम्मानार्थ, परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घरको संरक्षणको व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी २०८२ मा जलवायु सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ।
समाजलाई विभेद र हिंसामुक्त बनाउने नीति अवलम्बन गर्दै सरकारले सडक मानव मुक्त प्रदेश निर्माणको लक्ष्य राखेको छ। स्वास्थ्य क्षेत्रमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानमार्फत जनचेतना अभिवृद्धि गरिने भएको छ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ मा रूपान्तरण गरिने तथा यातायात कार्यालयमा सुरु गरिएको विद्युतीय भुक्तानी प्रणालीलाई थप विस्तार गरिने सरकारको नीति छ।
कृषि क्षेत्रलाई केन्द्रमा राख्दै अगुवा कृषकलाई सम्मान गर्ने योजना अघि सारिएको छ। ‘कृषक सबैभन्दा अगाडि’ अवधारणालाई कार्यान्वयन गर्दै कृषक केन्द्रित कार्यक्रम सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
View : 67
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved