ढुकुर जोडीको खोजीमा सुन्दरहरैंचा
सुन्दरहरैंचा, मोरङ —
सम्बन्ध विच्छेद, पारिवारिक असमझदारी र लैंगिक हिंसाका घटनाहरू बढ्दै गएको सन्दर्भमा सुन्दरहरैंचा नगरपालिकाले मिलेर बस्ने उदाहरणीय श्रीमान्–श्रीमतीको जोडी खोज्न सार्वजनिक आव्हान गरेको छ। लामो समयदेखि समझदारी, समर्पण र माया–ममतालाई कायम राख्दै दाम्पत्य जीवन बिताइरहेका जोडीलाई ‘ढुकुर जोडी’ को रूपमा सम्मान गरिने नगरपालिका स्रोतले जनाएको छ।
नगरपालिकाको न्यायिक समितिमा वर्षेनी बढ्दै गइरहेका पारिवारिक विवादका उजुरीहरूप्रति चिन्ता व्यक्त गर्दै सकारात्मक उदाहरणको पहिचान गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको हो। नगर प्रमुखका अनुसार समाजमा शान्ति, समझदारी र पारिवारिक एकता कायम गर्न सफल जोडीहरूबाट नयाँ पुस्ताले सिक्न सक्ने विश्वास गरिएको छ।
कसले दिन सक्छ आवेदन?
ढुकुर जोडीको मान्यता प्राप्त गर्नका लागि नगरपालिकाले केही न्यूनतम मापदण्ड तोकेको छ। ती अनुसार—
आवेदक दम्पतीको विवाह भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने,
श्रीमान्–श्रीमती दुवै जनाको नेपाली नागरिकता हुनु पर्ने,
विवाह कानुनी रूपमा दर्ता गरिएको हुनुपर्ने,
स्थायी रूपमा सुन्दरहरैंचा नगरपालिकामा बसोबास गरिरहेको हुनुपर्ने,
संयुक्त परिवारमा निरन्तर बस्दै आएको हुनुपर्ने,
आमा–बुवा वा सासू–ससुराको हेरचाह, सेवा र माया गर्दै आएको देखिएको हुनुपर्ने,
हालसम्म कुनै पनि न्यायिक समिति, अदालत, प्रहरी वा समाजमा आपसी झगडाको उजुरी नदिएको हुनुपर्ने,
वैदेशिक रोजगारीमा दुई वर्षभन्दा बढी समय बिताएको नरहेको हुनुपर्ने।
शर्तहरू पूरा गर्ने जोडीहरूले नगरपालिकाबाट आवेदन फाराम प्राप्त गरी निर्धारित समयसीमाभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य
नगरपालिका अनुसार “ढुकुर जोडी” अभियानले समाजमा आपसी समझदारी, माया, सहिष्णुता र दाम्पत्य जीवनको मूल्यबोध गराउने अपेक्षा गरिएको छ। झगडाबाट होइन, आपसी सहकार्यबाट घर–परिवार बलियो बनाउने अभ्यासलाई सम्मान गर्नुपर्ने आवश्यकता महसुस भएको जनाइएको छ।
“आजको समाजमा प्रेमभन्दा बढी स्वार्थले स्थान लिएको देखिन्छ। तर अझै पनि यस्ता जोडीहरू छन्, जसले वर्षौं सँगै हिँडेर माया, आदर र विश्वासलाई जीवनको आधार बनाएका छन्। हामी त्यही उदाहरणीय सम्बन्धको खोजीमा छौं,” नगरप्रमुखले भने।
अभियानमार्फत छनोट भएका जोडीलाई सार्वजनिक रूपमा सम्मान गरिने जनाइएको छ।
View : 102
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved