Biratnagar, Morang, Nepal
देश

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

२८ साउन २०८३, बिहिवार

Advertisement

काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले नेपालमा विदेशी लगानीको वातावरणमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ । कम्पनीले लगानीकर्ताको गोपनीयता तथा व्यावसायिक सूचनाको सुरक्षा सुनिश्चित नभएको सन्देश अन्तर्राष्ट्रियस्तरमा जाने भन्दै सरकारको कदमप्रति आपत्ति जनाएको हो ।

एनसेलले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते गरेको भनिएको निर्णयका आधारमा ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको विषयमा आपत्ति जनाएको छ । कम्पनीका अनुसार सुशासन, पारदर्शिता र नागरिकको सूचनाको अधिकारका नाममा कानुनले गोप्य राख्नुपर्ने संवेदनशील विवरणसमेत सार्वजनिक गरिएको छ ।

बिहीवार कम्पनीले प्रतिवेदन सार्वजनिक हुँदा नेपाल सरकार विदेशी लगानीकर्ता तथा उनीहरूको व्यावसायिक सूचनाको गोपनीयता संरक्षण गर्न प्रतिबद्ध छैन भन्ने सन्देश जाने दाबी गरेको छ । यसले नेपालमा नयाँ विदेशी लगानी आकर्षित गर्न तथा विद्यमान लगानीकर्ताको विश्वास कायम राख्न चुनौती सिर्जना गर्ने एनसेलको भनाइ छ ।

‘सरकारको यो कदमले लगानीकर्ताको विश्वास गुमाउने अवस्था सिर्जना गर्छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यसबाट लगानी र व्यवसाय प्रवद्र्धनमा ठूलो अवरोध आउन सक्छ र दीर्घकालमा देशले क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।’

लगानीकर्ताको गोपनीयतामा प्रश्न

एनसेलले कुनै पनि कम्पनीको लगानी, व्यवसाय, कारोबार तथा त्यससँग सम्बन्धित सूचना र विवरण कानुनद्वारा संरक्षित हुने दाबी गरेको छ । छानबिनका क्रममा समितिले संकलन गरेका सूचना सरकारका लागि अनुसन्धान, थप छानबिन वा अभियोजनमा प्रयोग गर्न सकिने भए पनि ती विवरण सर्वसाधारणको पहुँचमा ल्याउन नमिल्ने कम्पनीको तर्क छ ।

कम्पनीले नेपालको संविधानको धारा २८ ले प्रत्याभूत गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा करसम्बन्धी कानुनले सुनिश्चित गरेका विभिन्न गोपनीयताको अधिकार उल्लङ्घन भएको दाबी गरेको छ ।

एनसेलका अनुसार प्रतिवेदन सार्वजनिक हुँदा कम्पनीका शेयरधनी, सञ्चालक तथा हिताधिकारीको अधिकारसमेत प्रभावित भएको छ । विशेषगरी सम्पत्ति, लिखत, तथ्यांक, कारोबार, पत्राचार र विद्युतीय माध्यमसँग सम्बन्धित सूचनाको गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

अदालतको फैसलामा समेत प्रश्न

एनसेलले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित परेको रिट उच्च अदालतबाट २०८३ असार ३१ गते खारेज भएको र उक्त फैसला अन्तिम भइसकेको दाबी गरेको छ । अदालतको फैसला अन्तिम भइरहेको अवस्थामा त्यसको विपरीत हुने गरी सरकारले प्रतिवेदन सार्वजनिक गरेको भन्दै कम्पनीले आपत्ति जनाएको हो ।

कम्पनीले यसलाई न्यायिक मर्यादा तथा अदालतको फैसला पालना गर्नुपर्ने संवैधानिक र कानुनी दायित्वसँग जोडेको छ । अदालतबाट गोपनीय ठहर भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई एनसेलले दुर्भाग्यपूर्ण घटनाका रूपमा व्याख्या गरेको छ ।

कानुनी उपचार खोज्ने तयारी

सरकारको निर्णयविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार कानुनी उपचार खोज्ने अधिकार सुरक्षित राखेको एनसेलले जनाएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐनले गोपनीयता भंग भएमा दोषीलाई सजाय तथा पीडितलाई क्षतिपूर्ति माग गर्ने व्यवस्था गरेको उल्लेख गर्दै कम्पनीले यस विषयमा आवश्यक निर्णय लिने जनाएको छ ।

प्रतिवेदन सार्वजनिक हुँदा कम्पनीसँग सम्बन्धित विभिन्न गोप्य जानकारीको गोपनीयता भंग भएको र त्यसबाट आफूलाई अपूरणीय क्षति पुगेको एनसेलको दाबी छ ।

विदेशी लगानीमा दीर्घकालीन असर पर्ने दाबी

एनसेलले सरकारको पछिल्लो कदमलाई एउटा कम्पनीसँग मात्र जोडिएको विषय नभई नेपालमा लगानी सुरक्षाको विश्वसनीयतासँग सम्बन्धित विषयका रूपमा प्रस्तुत गरेको छ । विदेशी लगानीकर्ताले लगानी गर्ने मुलुकमा कानुनी सुरक्षा, व्यावसायिक स्वतन्त्रता तथा सूचनाको गोपनीयतालाई महत्वपूर्ण रूपमा हेर्ने भएकाले सरकारी कदमले नेपालको लगानी वातावरणबारे नकारात्मक धारणा बन्न सक्ने कम्पनीको भनाइ छ ।

 

नेपालले विदेशी लगानी आकर्षित गर्न नीतिगत सुधार तथा लगानी सहजीकरणको प्रयास गरिरहेका बेला लगानीकर्ताको व्यावसायिक गोपनीयतासम्बन्धी विवाद उत्पन्न हुनु सकारात्मक सन्देश नभएको एनसेलले जनाएको छ ।

कम्पनीले सरकारबाट लगानीकर्तालाई दिइएको संवैधानिक तथा कानुनी संरक्षणको प्रतिबद्धतामाथि नै प्रश्न उठ्ने गरी प्रतिवेदन सार्वजनिक गरिएको दाबी गरेको छ । यसलाई कम्पनीले ‘विश्वास र भरोसाको उल्लङ्घन’का रूपमा व्याख्या गरेको छ । एनसेलले प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयबाट तत्काल आफूलाई परेको क्षतिभन्दा पनि नेपालको लगानी वातावरणमा दीर्घकालीन प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।

कम्पनीका अनुसार लगानीकर्ताको विश्वास कमजोर भए नयाँ लगानी भित्र्याउन कठिन हुने र त्यसको असर रोजगारी, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्छ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved