Biratnagar, Morang, Nepal
अर्थ

स्थानीय तहको विकास बजेट खर्च न्यून, मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्र

१७ वैशाख २०८३, बिहिवार

Advertisement

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ ।

नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।
नगरपालिकाको-८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।

ठेक्का कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उनले दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति हुँदा विकास खर्च भने न्यून भएको जानकारी गराए ।

नगरपालिकाबाट यस वर्ष सञ्चालन गरिने जम्मा ६०० योजनामध्ये उपभोक्ता समिति मार्फत सञ्चालन हुने ५४४ वडा योजनाहरू रहेका उनले बताए ।

ती मध्ये हालसम्म ३९८ वटा अर्थात् करिब ६७ प्रतिशत योजनाको मात्र सम्झौता सम्पन्न भएको उनले जानकारी दिए ।
झण्डै ३३ प्रतिशत योजनाको आर्थिक वर्ष सकिन जम्मा २ महिना पनि बाँकी नभएको अवस्थामा कसरी सम्झौता हुन्छ र कस्तो काम हुन्छ भन्ने शङ्का पैदा भएको छ ।

तथापि प्रमुख प्रशासकीय अधिकृतसापकोटाले काम विभिन्न समस्याको कारण काममा ढिलाइ भएपनि अब कामले गति लिने बताए ।

नगरपालिकाले यस आर्थिक वर्षमा हालसम्म १८७ वटा योजनाको भुक्तानी दिएको छ । १२ वटा योजनाको भुक्तानी हुने चरणमा रहेका छन् ।

कार्यक्रममा नागरिकहरूले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृतसापकोटा र वडाध्यक्षहरूले दिएका थिए ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले काम गर्दा भएका कमजोरी सुधारको लागि औँल्याइदिन नागरिकलाई आग्रह गरे । कमजोरी औँल्याइदिए सच्चिएर अघि बढ्न मद्दत मिल्ने बताए ।

View : 9

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved