विराटनगर – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका लागि युवापुस्तालाई उद्यमशीलता र नवप्रवर्तनतर्फ उन्मुख गराउनु अहिलेको आवश्यकता भएको बताएका छन्।
शुक्रबार विराटनगरमा नेपाल कृषि बजार विकास कार्यक्रम सहज को प्राविधिक सहयोगमा आयोजित स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय समस्याको समाधानदेखि लगानी प्रवर्द्धनसम्मका विषयमा युवाको भूमिका निर्णायक हुने उल्लेख गरे।
“युवाले आर्जन गरेका सीप र प्रविधि प्रयोग गर्ने क्षमताको उचित उपयोग हुन सके डिजिटल उद्यमशीलता विस्तार हुँदै नयाँ व्यवसायिक अवसर सिर्जना गर्न सकिन्छ,” राउतले भने, “यसले आत्मनिर्भर प्रदेश र देश निर्माणतर्फ ठोस आधार तयार गर्नेछ।”
उनका अनुसार स्थानीय सोच र समाधानलाई प्राथमिकता दिन सके मात्र उद्यमशीलताको यात्राले दिगो नतिजा दिन सक्छ। उनले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास जित्ने वातावरण निर्माण गर्न प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको प्रष्ट पारे।
कार्यक्रममा मोरङ र सुनसरीका उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय तहका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले उद्यमशीलताको अवधारणा, यसको विकास, सफल व्यवसाय निर्माणका उपाय र नवप्रवर्तनलाई अघि बढाउने रणनीतिबारे छलफल गरेका थिए।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार यस्तै अन्तरक्रिया कार्यक्रम झापाको विर्तामोडमा पनि मंगलबार र बुधबार सम्पन्न गरिएको छ। कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तनका विज्ञ निरज खनाल र अनिल पराजुलीले सहजीकरण गरेका थिए।
View : 211
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved