काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।
हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले अवसर पायो । जसलाई कप्तान फजिलाले सदुपयोग गर्दै गोल गर्न सफल भएकी हुन् ।
त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् ।
खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो ।
गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच वटा देशहरुको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।
View : 39
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved