आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा हालसालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भई देशको शासन व्यवस्था परिवर्तनका लागि अघि बढिरहनुभएका सम्पूर्ण महिला माननीयज्यूहरूलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछु।
देश र समाज परिवर्तनको यात्रामा अगाडि बढ्दा अवस्था र व्यवस्था परिवर्तनसँगै समुदायमा आधारित अपाङ्गता समावेशी विकासलाई पनि विशेष ध्यानमा राखेर अघि बढ्नुहुनेछ भन्ने अपेक्षा छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सम्मान सुनिश्चित गर्ने अभियानमा हामी सधैँ साथमा रहनेछौँ।
हाम्रो देश नेपालमा गत भदौ २३ र २४ गते देशमा भइरहेको चरम भ्रष्टाचारविरुद्ध शासन व्यवस्था परिवर्तनको माग गर्दै भएको आन्दोलनमा ७७ जनाले ज्यान गुमाए। त्यो आन्दोलन मूलतः निर्वाचनका लागि नभए पनि तत्कालीन परिस्थितिले देशलाई मध्यावधि निर्वाचनतर्फ मोड्यो। हालै सोही अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फका अधिकांश मत परिणाम सार्वजनिक भइसकेका छन् भने समानुपातिकतर्फको प्रक्रिया जारी रहेको छ।
जे व्यवस्था बदलिए पनि, जुनसुकै क्षेत्रमा परिवर्तन भए पनि देशलाई भ्रष्टाचारमुक्त बनाउँदै सही दिशाबाट समाज परिवर्तन गर्ने उद्देश्यका साथ एक शिक्षित र सचेत समूह दुईतिहाइभन्दा बढी बहुमतसहित अगाडि बढिरहेको देखिन्छ। विश्वकै कान्छा भावी प्रधानमन्त्रीसहित नव–निर्वाचित संघीय संसदले धेरै आशा र अपेक्षा जगाएको छ।
तर पनि मनमा एउटा प्रश्न भने निरन्तर उठिरहन्छ:
के भ्रष्टाचारविरुद्ध सही ढङ्गले काम गर्न बनाइएका भावी योजनाहरूमा समावेशी समाजको परिकल्पनासहित अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूको समुदायका लागि पर्याप्त योजना समेटिएका छन् त?
के ती व्यक्ति र समुदाय राज्यको दायित्वभित्र पर्दैनन्?
कि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपछि उनीहरूका अन्य आवश्यकता समाप्त हुन्छन् भन्ने सोच अझै पनि हाम्रो नीतिनिर्माणमा बाँकी छ?
अपाङ्गता भएको कारणले मात्र राज्यका दीर्घकालीन योजना, नीति र कार्यक्रमहरूमा स्थान नपाउनु आफैँमा लज्जास्पद विषय बन्न सक्छ। समावेशी समाजको निर्माण बिना कुनै पनि परिवर्तन पूर्ण हुन सक्दैन।
आज प्राप्त भएको दुईतिहाइभन्दा बढी बहुमतमा अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूको परिवारको मत पनि उत्तिकै महत्वपूर्ण रहेको कुरा बिर्सनु हुँदैन। आज पाँच वर्षका लागि माननीय बन्न सकिएला, तर भोलिको दिनमा यिनै नागरिकहरूले मूल्याङ्कन गरेर पुनः निर्णय गर्नेछन्।
त्यसैले आज अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा विशेष आग्रह छ : समावेशी समाज निर्माण, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता र समुदायमा आधारित अपाङ्गता समावेशी विकासलाई राष्ट्रिय नीति तथा कार्यक्रमको केन्द्रमा राखेर अघि बढ्नुस्।
त्यो दिन मात्र हाम्रो लोकतन्त्र साँच्चिकै सबैका लागि हुनेछ।
View : 104
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved