विराटनगर: नेपालको पहिलो लायन्स क्लब ‘लायन्स क्लब अफ विराटनगर’ले नेपाल लायन्स दिवस–२०२६ तथा आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा साउन २१ देखि २७ गतेसम्म विराटनगरमा साताव्यापी सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
क्लबले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्दै लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना र्याली, निःशुल्क स्वास्थ्य परीक्षण, फेमिली फुड प्याक वितरण, वृक्षरोपण, ट्राफिक सचेतना, दीप प्रज्वलन तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक्स्टेम्पोर स्पिच प्रतियोगिता आयोजना गरिने जनाएको हो।
कार्यक्रमको उद्घाटन बिहीबार बिहान विराटनगर–२ स्थित लायन्स क्लब अफ विराटनगरको भवनबाट सुरु हुने लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना र्यालीबाट गरिनेछ। कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा आयोजना हुने र्याली बिहान ७ बजे क्लब भवनबाट सुरु भई नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै बिहान ९ बजे जैन भवनमा समापन हुने कार्यक्रम रहेको क्लबका अध्यक्ष चाँदबाबु इराकीले जानकारी दिए।
अध्यक्ष इराकीले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समाजसँग प्रत्यक्ष जोडिने सेवा कार्यक्रममार्फत मनाउन लागिएको बताए। ‘लायन्सको मूल उद्देश्य नै सेवा हो,’ उनले भने, ‘सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले स्वास्थ्य, वातावरण, युवा र सामाजिक उत्तरदायित्वका विभिन्न पक्षलाई समेट्नेछ।’
पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष तथा पूर्व डिष्ट्रिक्ट गभर्नर फुलकुमार लालवानी, पूर्व अध्यक्ष एवं सात दिने सेवा सप्ताह कार्यक्रमका प्रमुख सल्लाहकार घनश्याम काबरा, पूर्व अध्यक्ष मनिष भट्टराई र रामअवतार अग्रवाल सहभागी थिए।
नेपालमा लायन्स आन्दोलनको सुरुआत गर्ने संस्थाका रूपमा परिचित लायन्स क्लब अफ विराटनगरले स्थापनाको ५५ वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागेको सेवा सप्ताहलाई समुदायकेन्द्रित अभियानका रूपमा सञ्चालन गर्ने जनाएको छ।
View : 62
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved