Biratnagar, Morang, Nepal
खेलकुद

क्रीकेट

नेपालले वेस्टइन्डिजलाई हराउँदै ऐतिहासिक जित

यस जितसँगै नेपालले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध विजयी भएको मात्र होइन, दुई पटकको विश्वकप च्याम्पियनलाई हराएर नयाँ इतिहास रचेको छ।
-
अखवारका कुरा
१२ असोज २०८२, आइतवार

Advertisement

शारजाह (यूएई) – नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा शनिबार सम्पन्न युनिटी कपको पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन जोड्यो। लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै सीमित भयो।

अन्तिम ओभरमा वेस्टइन्डिजलाई २८ रन आवश्यक थियो। बलिङका लागि आएका दिपेन्द्र सिंह ऐरीले दबाब सहनसक्ने उत्कृष्ट प्रदर्शन गरे। दोस्रो र तेस्रो बलमा चौका प्रहार भए पनि बाँकी बलमा कडाइका साथ नियन्त्रण गरे। अन्तिम बलमा बाउन्ड्री लाइनमा कुशल भुर्तेलले लिएका उत्कृष्ट क्याचसँगै नेपालको जित सुनिश्चित भयो।

वेस्टइन्डिजका लागि डेब्युट खेलाडी नवीन विदेशीले सर्वाधिक २२ रन बनाए। उनले २५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै हिट विकेटको रुपमा आउट भए। कप्तान अकेल होसेनले ८ बलमा १८ रन जोडे भने ओपनर अमिर जाङ्गोले १९ रन बनाए।

नेपालका बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिए भने नन्दन यादव, रोहित पौडेल, करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट हात पारे। बलिङका क्रममा दोस्रो इनिङ्सको पाँचौं ओभरमा सन्दीप लामिछाने घाइते भए पनि ४.५ ओभरमा एक विकेट लिएर बाहिरिए।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रनको महत्वपूर्ण पारी खेले। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन र दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे। अन्तिमतिर सोमपाल कामी ६ तथा नन्दन यादव ७ रनमा अविजित रहे।

वेस्टइन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने नवीन विदेशीले ३ विकेट र कप्तान होसेनले १ विकेट हात पारे।

यस जितसँगै नेपालले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध विजयी भएको मात्र होइन, दुई पटकको विश्वकप च्याम्पियनलाई हराएर नयाँ इतिहास रचेको छ।

View : 157

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved