विराटनगर : हामी युवा, नेपालले सुनसरीको दुहबीस्थित शुभ लक्ष्मी इन्टरप्राइजेजसँगको सहकार्यमा मोरङ बाल सुधार गृहलाई एक थान सिटी सफारी र स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ।
विराटनगर–३ स्थित बाल सुधार गृहमा बुधबार आयोजित कार्यक्रममा हामी युवा, नेपालका अध्यक्ष सन्तोष दाहालले सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेलाई सिटी सफारीको चाबी हस्तान्तरण गरे। एसडी स्टेशनरीको सहयोगमा उपलब्ध गराइएको स्टेशनरी सामग्रीसमेत सोही अवसरमा प्रदान गरिएको थियो।
अध्यक्ष दाहालले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका समुदाय र संस्थालाई निरन्तर सहयोग गर्दै आएको बताए। उनका अनुसार सिटी सफारी खरिदका लागि आवश्यक रकममध्ये ८० प्रतिशत संस्थाका युवा सदस्य तथा शुभेच्छुकहरूबाट संकलन गरिएको हो भने बाँकी २० प्रतिशत सहयोग एसके सिटी रिक्साले गरेको हो।
बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले गत भदौ २४ गतेको आन्दोलनका क्रममा सुधार गृहको सवारीसाधन तोडफोड भएपछि बालकहरूलाई अस्पताल लैजान, अदालत पुर्याउन तथा अन्य अत्यावश्यक सेवामा कठिनाइ हुँदै आएको बताए। नयाँ सिटी सफारी प्राप्त भएपछि सेवा प्रवाह थप सहज हुने विश्वास उनले व्यक्त गरे।
शुभ लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सञ्जय रौनियारले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। सम्राट स्मार्ट क्लबका अध्यक्ष किरण गिरीले दाताहरूको सहयोगबाट उपलब्ध भएको सिटी सफारीको सही सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोगी सबैप्रति आभार प्रकट गरे।
कार्यक्रममा समाजसेवी दिवस राजवंशी, हामी युवाका संस्थापक सविन दाहाल, बाल सुधार गृहका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
View : 48
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved