मुस्लिम संघ स्थापना दिवस
विराटनगर
नेपाल मुस्लिम संघको १७ औं स्थापना दिवसको अवसरमा संघले मोरङको विराटनगरमा कब्रिस्तान सरसफाइ तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत दुई स्थान—ठूलो कब्रिस्तान, विराटनगर–१३ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै पारस अस्पताल, विराटनगर–११ मा सरसफाइ तथा फलफूल वितरण गरिएको हो।
नेपाल मुस्लिम संघ मोरङ अध्यक्ष केहकशा कौशरले कार्यक्रममा बोल्दै भनिन्, "समाज र धर्मप्रति उत्तरदायी बन्ने अवसर हो यो कार्यक्रम। हामीले धार्मिक स्थलको सम्मानका साथै बिरामीहरूको सेवा गर्ने सन्देश दिन खोजेका छौँ।" उनले मुस्लिम समुदायको सक्रिय सहभागिता र सहकार्यले यस्तो कार्यक्रमलाई अझ प्रभावकारी बनाएको बताइन्।
कार्यक्रममा सहभागी विराटनगर महानगरपालिका नगरप्रमुख नागेश कोइरालाले मुस्लिम संघको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै भने, "विराटनगर बहुसांस्कृतिक सहर हो। यहाँ सबै धर्म, जात, वर्गबीचको सहकार्य र समझदारीले नै शहरको पहिचान बनेको छ। यस्ता कार्यक्रमले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ।"
नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सहबाज हकले भने, "संघले स्थापना दिवस केवल औपचारिकतामा सीमित नराखी सेवा, सरसफाइ र सहयोगजस्ता कर्ममा जोड दिएको छ। हामी विश्वास गर्छौं, सामाजिक काममार्फत हामी धर्मको वास्तविक भावना प्रस्तुत गर्न सक्छौं।"
नेपाल मुस्लिम संघ कार्यसमिति मोरङद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय मुस्लिम समुदायको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो। आयोजकले यसलाई नियमित वार्षिक गतिविधिको रूपमा निरन्तरता दिने योजना रहेको बताएका छन्।
View : 473
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved