Biratnagar, Morang, Nepal
राजनीति

अधिवेशन र सदस्यता वितरणमा ढिलाइ भएको भन्दै तरुण दल मोरङको कार्यालयमा तालाबन्दी

-
अखवारका कुरा
२१ वैशाख २०८२, आइतवार

Advertisement

 

विराटनगर — नेपाल तरुण दल मोरङमा निर्धारित समयमा अधिवेशन नगरेको र पूर्णकालिक सदस्यता वितरण प्रक्रिया अघि नबढाएको भन्दै असन्तुष्ट समूहले आइतबार जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्।

तरुण दल मोरङका उपाध्यक्ष खेम थापा लगायत नेताहरूको नेतृत्वमा गरिएको तालाबन्दीका क्रममा नेतृत्वको असक्षमता र संगठनप्रतिको उदासीनताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “७२ घण्टाभित्र अधिवेशन र सदस्यता वितरणसम्बन्धी स्पष्ट कार्ययोजना नआएमा समानान्तर संरचना बनाएर प्रक्रिया अघि बढाइनेछ।”

विज्ञप्तिमा हालका अध्यक्षले संगठनलाई निष्क्रिय बनाएको आरोप लगाइएको छ। “नेतृत्वको कमजोर भूमिकाका कारण संगठन लथालिंग अवस्थामा पुगेको छ। निर्णय प्रक्रियामा चासो नदिइएकाले हामी बाध्य भएर तालाबन्दी गर्नुपरेको हो,” विज्ञप्तिमा उल्लेख छ।

नेताहरूका अनुसार सात दिनअघि नै नेतृत्वलाई अल्टिमेटम दिइएको थियो, तर सो अवधिमा कुनै प्रतिक्रिया नआएपछि कडा कदम चालिएको हो।

तरुण दल मोरङमा पछिल्ला महिनाहरूमा आन्तरिक समन्वय कमजोर बन्दै गएको र संगठनभित्र ध्रुवीकरण चर्किएको देखिएको छ। आगामी दिनमा नेतृत्व परिवर्तन वा समानान्तर गतिविधि बढ्ने संकेत देखिन थालेको छ।

View : 40

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved