Biratnagar, Morang, Nepal
स्वास्थ

AIDS Healthcare Foundation (AHF) बैठक

एचआईभी क्षेत्रमा क्रियाशील संघसंस्थाबीच विराटनगरमा समन्वय बैठक

६०६ सेवाग्राहीलाई कोशी अस्पतालको एआरटी सेन्टरमार्फत सेवा।
-
अखवारका कुरा
१२ जेठ २०८२, सोमवार

Advertisement

विराटनगर
एचआईभी/एड्स नियन्त्रण तथा उपचारमा सक्रिय संघसंस्थाबीच समन्वयलाई मजबुत बनाउने उद्देश्यसहित AIDS Healthcare Foundation (AHF) नेपालले सोमबार विराटनगरमा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कोशी प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, बिराटनगर महानगरपालिका, साथै एचआईभी क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहभागितामा सम्पन्न बैठकमा हालको सेवा अवस्था, चुनौती र आगामी सहकार्यका सम्भावनाबारे गम्भीर छलफल भएको थियो।

कार्यक्रममा AHF नेपालका प्रतिनिधि केशव बस्नेतले AHF र कोशी अस्पताल अन्तर्गतको ART (Anti-Retroviral Therapy) सेन्टरमार्फत सञ्चालित सेवाबारे जानकारी दिँदै भने, “कोशी अस्पतालको ART सेन्टरबाट हाल ६०६ जना संक्रमितले नियमित सेवा लिइरहेका छन्। तीमध्ये ३४८ पुरुष, २३५ महिला, २३ जना लैङ्गिक अल्पसंख्यक र ६ जना बालबालिका रहेका छन्।”

स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईंले यस्ता समन्वय बैठकले संस्थाबीचको सम्बन्ध प्रगाढ बनाउने, सहकार्यलाई व्यवस्थित गर्ने र कार्यदिशा स्पष्ट पार्ने अवसर दिने बताए। “एचआईभी क्षेत्रमा काम गरिरहेका संघसंस्थाको पहिचान र योगदानलाई बुझ्ने राम्रो माध्यम पनि हो यस्ता छलफल,” उनले भने।

त्यसैगरी, स्वास्थ्य निर्देशनालय, कोशी प्रदेशका निर्देशक ज्ञानबहादुर बस्नेतले निर्देशनालय सहकार्य र नीति निर्माणमा खुला रहेको उल्लेख गर्दै हाल बजेट निर्माण प्रक्रियामा रहेका कारण एचआईभी सम्बन्धी कार्यक्रमका लागि उपयुक्त सुझाव दिन आग्रह गरे।

AHF नेपालले मुलुकभरका विभिन्न अस्पतालहरूसँग सहकार्य गर्दै ART सेन्टरमार्फत सेवा पुर्‍याउँदै आएको छ। कोशी प्रदेशमा कोशी अस्पताल, बिराटनगर र भद्रपुर अस्पताल, झापाबाट समेत संक्रमितहरूलाई सेवा उपलब्ध गराइँदै आएको छ।

संघसंस्थाबीचको यस्तो सहकार्यलाई स्थायी बनाउँदै संक्रमितहरूको जीवनस्तर उकास्न सरोकारवालाहरू एकमत देखिए।

View : 198

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved