Biratnagar, Morang, Nepal
शिक्षा

विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन

-
अखवारका कुरा
८ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । 

रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा कक्षा ७ देखि कक्षा १२ सम्मका ४ विद्यालयका २ सय २५ विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले सम्मलेनमा सार्क राष्ट्रको अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ, नेपाल, पाकिस्तान र श्रीलंकाको प्रतिनिधित्व गरिरहेका छन् ।
सहभागी विद्यार्थीले संयुक्त राष्ट्र संघको कार्य सम्पादन बारे विस्तृत ज्ञान हासिल गर्दै आफूले प्रतिनिधित्व गरेको देशले भोग्दै आएको समस्या, मध्यपूर्व एशियाको युद्धले पैदा भएको इन्धन संकटले उत्पन्न आफ्नो देशमा विषम परिस्थिति, जलवायु परिवर्तन, आइटी, कार्बन उत्सर्जन, गरिबी उन्मुलन, मानव तस्करी, लागु औषध दुव्र्यसन एवं कारोबार र निसशस्त्रीकरणलगायतका विषयमा पक्ष राख्ने छन् । 
 सम्मेलनको उद्घाटन सत्रमा बोल्दै रोटरी क्लब अफ विराटनगरका निवर्तमान अध्यक्ष एवं सम्मेलनका संयोजक मनोजबिक्रम शाहले नमुना संयुक्त राष्ट्रसंघको आफ्नै महत्व रहेको बताए । उनले सिकेका कुरालाई घर र समाजमा लैजान सके सार्थक हुने बताए । शाहले विद्यार्थीलाई क्षमतावान बनाई नेतृत्व उन्मुख बनाउने महासभाको उद्देश्य रहेको बताए । 
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई विविध कुरा जान्ने र सिक्ने ठूलो अवसर दिने गरेको बताए । उनले विद्यार्थीले प्रयोगात्मक पद्धत्तिबाट सिकेका कुरा जीवनको टर्निङ प्वाइन्ट बन्न सकोस् भनि महासभाको सफलताको कामना गरे । 
एभरेष्टका प्राचार्य टिकाराम पुरीले सूचना चौतर्फी भएपनि विवेक प्रयोगबाट मात्र आउने बताए । उनले आजको अन्तरसम्बन्धित विश्वमा किताबी ज्ञान एक्लैले नपुग्नेभन्दै वैश्विक कुटनीतिज्ञका भूमिका एवं कार्यशैली, संवेदनशील एजेण्डामा बहस र संयुक्त राष्ट्र संघको संचालनबारे सम्मेलनले विद्यार्थीलाई अवसर उपलब्ध गराउने बताए । 
शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहालले हालको विश्वव्यापी बद्लिँदो परिस्थितिमा सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्नु पर्ने बताए । उनले विद्यार्थीले आफ्नै भुमि र क्षेत्रमा संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्न पाउनु गर्वको कुरा भएको बताए ।  

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. विजुकुमार थपलियाले जीवनमा कसरी सही बाटो खोज्नेभन्ने महत्वपूर्ण भएको बताए । उनले तर्क जितेर सफल नहुनेभन्दै लक्ष्य हासिल गर्न साझा बाटो आवलम्बन गर्नु महत्वपूर्ण हो भनि बताए ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष ठाकुरप्रसाद आचार्यले यस प्रकारको कार्यक्रम विराटनगरमा रोटरीले पहिलो पटक आयोजना गरेको बताए । उनले सम्मेलनले विद्यार्थीमा परिपक्वता आउने र निर्णय लिने क्षमता मजबुत हुने बताए ।

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved