काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई फुटबल इतिहासका जीवित महानायकको संज्ञा दिँदै ३९ वर्षको उमेरमा पनि अर्को फिफा विश्वकप फाइनलमा टोलीलाई पु¥याउनु अविश्वसनीय उपलब्धि भएको बताएका छन् ।
अमेरिकाको न्यु जर्सीमा आइतबार स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले मेस्सीको योगदानको खुलेर प्रशंसा गर्दै उनको उपलब्धिको उचित मूल्यांकन हुनुपर्ने बताए ।
‘३९ वर्षको उमेरमा पनि मेस्सीले विश्वकप फाइनलसम्म टोलीलाई पु¥याउनु अविश्वसनीय उपलब्धि हो । उनले जे गरिरहेका छन्, त्यसको मूल्यांकन गर्नुपर्छ । उनी फुटबलका जीवित किंवदन्ती अर्थात महानायक हुन् । यस टोलीले हामीलाई अविस्मरणीय वर्षहरू दिएको छ,‘ स्कालोनीले भने ।
लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाका लागि मेस्सीको नेतृत्व प्रेरणादायी रहेको उल्लेख गर्दै स्कालोनीले फाइनल जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए ।
उनले अर्जेन्टिनाले प्रत्येक खेलझैँ स्पेनको पनि गहिरो अध्ययन गरेर तयारी गरेको बताउँदै टोलीले आफ्नै क्षमताका आधारमा फाइनलसम्मको यात्रा तय गरेको उल्लेख गरे । ‘हामी हरेक खेलका लागि तयारी गरिरहेका छौँ । विपक्षीको विश्लेषण गरेका छौँ र जितका लागि आफ्नो उत्कृष्ट खेल खेल्नुपर्नेछ । हाम्रो टोलीलाई सबैले चिन्छन्, त्यसैले फाइनलसम्म पुग्नु अझ ठूलो उपलब्धि हो,‘ उनले भने ।
स्कालोनीका अनुसार फाइनलअघि टोलीका सबै खेलाडी फिट छन् र अन्तिम प्रशिक्षण सत्र महत्त्वपूर्ण हुनेछ । उनले अर्जेन्टिना र स्पेन दुवै बल नियन्त्रणमा आधारित शैलीमा खेल्ने टोली भएकाले फाइनल निकै प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे ।
यसैबीच, अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो सम्पूर्ण ध्यान विश्वकप उपाधि जित्नमै केन्द्रित रहेको बताए । उनले यसपटकको विश्वकप अघिल्लो संस्करणभन्दा बढी रमाइलो लागेको उल्लेख गर्दै परिवार, टोलीका साथीहरू र अर्जेन्टिनी समर्थकप्रति कृतज्ञता व्यक्त गरे ।
‘मेरो ध्यान केवल विश्वकप जित्नमा छ । यो टोलीसँग हासिल गरेका उपलब्धिहरू सम्झँदा कहिलेकाहीँ भावुक हुन्छु । आइतबार म मुस्कानसहित मैदानमा उत्रिनेछु,‘मार्टिनेजले भने ।
अर्जेन्टिनाले आइतबार स्पेनसँग विश्वकप २०२६ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहँदा स्पेन भने सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि उचाल्ने अभियानमा हुनेछ । एएनआई
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved