विराटनगर । खेलकुद केवल प्रतिस्पर्धा र मनोरञ्जनको माध्यम मात्र होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने साझा शक्ति पनि हो भन्ने सन्देश विराट स्पोर्ट्स जोनले दिएको छ।
हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको पीडामा साथ दिने उद्देश्यले विराटनगरको दुधफारममा सञ्चालनमा रहेको विराट स्पोर्ट्स जोनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार ८६२ सहयोग गर्ने भएको छ।
विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा थोरै भए पनि साथ र भरोसा प्रदान गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोन परिवारले उक्त रकम संकलन गरेको हो। संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो दुई दिनको पारिश्रमिक सहयोगस्वरूप प्रदान गरेका छन् भने व्यवस्थापन पक्षबाट समेत योगदान गरी सहयोग रकम संकलन गरिएको संस्थाले जनाएको छ।
भर्खरै सञ्चालनमा आएको विराट स्पोर्ट्स जोन खेलकुद गतिविधिको विकास र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बन्ने उद्देश्यका साथ अघि बढिरहेको छ। खेलप्रेमीहरूको साझा थलोका रूपमा स्थापित हुँदै गरेको संस्थाले राष्ट्रमाथि संकट आइपर्दा सामाजिक र मानवीय सेवामा पनि आफ्नो भूमिका देखाएको हो।
विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले विपद्को समयमा सबै नेपाली एकजुट हुनुको विकल्प नभएको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बाढी र पहिरोको पीडामा हुनुहुन्छ। कतिपयले आफ्नो घरबार गुमाउनुभएको छ भने कतिपय परिवार सामान्य जीवनमा फर्किन संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा हाम्रो सानो सहयोगले पनि पीडित परिवारलाई थोरै भए पनि राहत र भरोसा मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरेका हौँ।”
अध्यक्ष बजगाईंले सहयोगको आकारभन्दा पनि संकटको समयमा देखाइने मानवीय भावना र साथ महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विपद्को घडीमा देश र जनताका लागि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
भौगोलिक विकटता तथा अन्य प्राविधिक असहजताका कारण बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर राहत सामग्री वितरण गर्न कठिन भएकाले संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक खातामार्फत जम्मा गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।
अध्यक्ष बजगाईंले सहयोग अभियानमा सहभागी सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उनीहरूले देखाएको निस्वार्थ भावना, त्याग र ऐक्यबद्धता विराट स्पोर्ट्स जोन परिवारका लागि प्रेरणाको विषय बनेको बताउनुभयो।
विपद्ले देशका विभिन्न स्थानमा नागरिकको जीवन प्रभावित गरिरहेका बेला विराट स्पोर्ट्स जोनको यो पहल आर्थिक सहयोगमा मात्र सीमित छैन। यो सहयोगले संकटको घडीमा नेपाली नेपालीका लागि साथमा छन् भन्ने सन्देश समेत दिएको छ।
खेलको मैदानमा उत्साह, ऊर्जा र प्रतिस्पर्धा सिर्जना गर्ने विराट स्पोर्ट्स जोन परिवारले विपद्को घडीमा भने मानवता, सहानुभूति र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ। बाढीपीडितको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यो मानवीय पहलले अन्य संघसंस्था तथा निजी क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वमा अग्रसर हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
View : 60
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved