नयाँ बन्यो एतिहासिक रथ
श्रीकृष्ण जन्माष्टमीको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नयाँ रथको उद्घाटन गर्नुभएको छ। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आज बिहान आयोजित कार्यक्रममा मेयर कोइरालाले पूजा–आराधना गर्दै रथको औपचारिक उद्घाटन गर्नुभएको हो।
महानगरपालिकाको ४४ लाख ७८ हजार रुपैयाँ लागतमा प्यागोडा शैलीमा निर्मित रथको आजै लोकार्पण गरिएको हो। सो अवसरमा मेयर कोइरालाले राधाकृष्ण रथयात्रासँग सम्बन्धित म्युजिक भिडियो सार्वजनिक गर्नुका साथै सहयोगी व्यक्तिहरुलाई सम्मानसमेत गर्नुभएको थियो। सो म्युजिक भिडियो रथयात्रा आयोजक समिति र पत्रकार नवीन कर्णले निर्माण गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रथयात्रा विराटनगरको मात्र नभई पूर्वाञ्चल र देशकै गौरव भएको उल्लेख गर्दै यसलाई भव्य र सभ्य बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले रथ व्यवस्थापन र आयोजनाका लागि महानगरको निरन्तर सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी ब्रह्माकुमारी गीता कुमारी, आयोजक समितिका सदस्य नन्दकिशोर राठी, कृष्ण कार्की, तथा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष अन्जु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
५७ औं संस्करणका रूपमा राधाकृष्ण रथयात्रा भोलि आइतबार विराटनगरका विभिन्न मार्ग हुँदै भव्यतापूर्वक निकालिने भएको आयोजक समितिले जनाएको छ।
View : 63
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved