विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सदस्य मिलन लुईटेल कांग्रेस यसपटक संगठनात्मक रूपमा बढी तयारीका साथ निर्वाचनमा होमिएको बताउँछन् । उनका अनुसार कोइराला स्वयंले कार्यकर्तालाई निर्वाचन–केन्द्रित हुन निर्देशन दिँदै आएका छन् ।
तर पार्टीभित्रै डा. शेखरप्रति पूर्ण सन्तुष्टि भने देखिँदैन । कांग्रेस सुधारको अभियानको नेतृत्व गरेका शेखरको पछिल्लो भूमिकालाई लिएर केही कार्यकर्तामा असन्तोष छ । विशेष महाधिवेशनका बेला देखिएको उनको भूमिकाबारे प्रश्न उठ्ने गरेको छ ।
एक कार्यकर्ता भन्छन्, ‘कांग्रेस बदल्नुपर्छ भन्ने नेताबाट निर्णायक समयमा अपेक्षित भूमिका देखिएन । तर पनि अहिलेको विकल्पमा हामी उहाँलाई नै जिताउन लागिपरेका छौँ ।’
एमालेको दाउ : आलोचक नेता, संगठनको भरोसा
यस क्षेत्रमा नेकपा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ । एमालेको महाधिवेशनमा सचिव पदका उम्मेदवारसमेत रहेका ढकाललाई पार्टीले मोरङ–६ को प्रतिनिधि मानेको हो ।
एमाले कार्यकर्ताबीच ढकालप्रति आशा देखिन्छ । ‘यसपाली विनोद दाइले इतिहास रच्नुहुन्छ,’ भन्ने अभिव्यक्ति एमालेका स्थानीय कार्यकर्ताबाट सुनिन्छ ।
ढकाल पार्टीभित्र आलोचनात्मक धारणा राख्ने नेता मानिन्छन् । यही कारण एमाले संस्थापन इतर समूहका नेता–कार्यकर्ता उनीप्रति थप विश्वस्त देखिन्छन् । वैचारिक स्पष्टता र फरक आवाज नै ढकालको मुख्य चुनावी पुँजी बनेको विश्लेषण छ ।
रास्वपाः सहरी मतदाता र ‘परिवर्तन’ को अपिल
सहरी र ग्रामीण भूगोल (विराटनगरका केही वडा, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका पनि केही वडा) मिसिएको मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव पनि विस्तार हुँदै गएको देखिन्छ । यस क्षेत्रबाट रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ ।
विवेकशील साझा पार्टीमार्फत राजनीति सुरु गरेकी आचार्य सामाजिक र शैक्षिक सेवामा सक्रिय अनुहार हुन् । उनलाई पुराना राजनीतिक दलप्रति असन्तुष्ट, विशेषगरी युवा मतदातालाई आकर्षित गर्न सक्ने क्षमताको उम्मेदवारका रूपमा हेरिन्छ । राजनीतिमा नयाँपन र परिवर्तनको भोट आचार्यतर्फ जाने निश्चित रहेको छ ।
अघिल्लो निर्वाचन र वर्तमान समीकरण
अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको रास्वपाले ११ हजार ५२६ र चौथो स्थानको राप्रपाले १० हजार ६४१ मत ल्याएका थिए । तत्कालीन माओवादी पाँचौं स्थानमा सीमित थियो ।
२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ३५ हजार २२४ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९४६ मत ल्याउँदा रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत पाएका थिए ।
मोरङ–६ मा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो नै उपस्थितिले यसपटक अनुभव, संगठन र परिवर्तन बीचको प्रतिस्पर्धा देखिन्छ । कांग्रेसको स्थापित मत आधार, एमालेको संगठित संरचना र रास्वपाको बढ्दो आकर्षणले यो क्षेत्रलाई त्रिपक्षीय भिडन्तको केन्द्र बनाएको छ ।
View : 72
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved