विराटनगर - विराटनगरमा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टस मेमोरियल प्लस टुले नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कलेजले विद्यार्थीलाई स्वागत गर्दै आफ्नो शैक्षिक प्रणाली, सिकाइ पद्धति र आगामी दुई वर्षका शैक्षिक योजनाबारे जानकारी गराएको हो।
कार्यक्रमकै अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए प्राप्त गर्ने तथा आ-आफ्ना विद्यालयमा प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले मार्टस मेमोरियलले आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कलेजका अनुसार पहिलो वर्षमै विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा गरी ७ सय ३७ जना विद्यार्थी भर्ना भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल सीएम श्रेष्ठले अभिभावक र विद्यार्थीले गरेको विश्वासलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने दक्ष र सक्षम विद्यार्थी उत्पादनमा कलेज केन्द्रित रहने बताए।
कलेजका संस्थापक अर्जुन श्रेष्ठले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी सीप, संस्कार र प्रविधिमैत्री शिक्षामार्फत प्रतिस्पर्धी जनशक्ति निर्माण गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत तथा वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले कलेजको सफलताको कामना गरेका थिए।
कलेजका अध्यक्ष विष्णु डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थापक इन्द्रकुमार राईले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गर्दै उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए।
View : 25
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved