उदयपुर
उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबस आइतबार मध्यान्ह सप्तरीमा दुर्घटनामा पर्दा ३ जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्चनरुप नगरपालिका–१०, बदगामा बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको छ। गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुर्याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अन्य दुई जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ।
बसमा ३५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा घाइते भएका २३ जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते यात्रुहरूमा सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर, सविता थापा, सुष्मा विष्ट, पवित्रा मगराती, विमलादेवी ठाकुर, मायादेवी थापा, श्याकुमार सदा, मनोज सदा, सनावती चौधरी, निर्मला गुप्ता, पुजनदेवी सिलवाल, गीता सिलवाल र बमबहादुर कार्की रहेका छन्।
प्रहरीले झापा मेचीनगर–७ का ४७ वर्षीय बस चालक अमृत दर्जीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।
View : 35
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved