कोशी प्रदेश लगानी सम्मेलन
विराटनगर– कोशी प्रदेशले आफ्नो आर्थिक विकास र समृद्धिका लागि ऐतिहासिक कदम चालेको छ। आगामी वैशाख १८ र १९ गते पहिलो लगानी सम्मेलन र सन् २०२५ (वि.सं. २०८२) लाई पर्यटन वर्षको रूपमा मनाउने योजना अनुसार निजी क्षेत्रले ऐतिहासिक ऐक्यबद्धता व्यक्त गरेको छ, जसले कोशी प्रदेशको भविष्यलाई सुनौलो बनाउने विश्वास जगाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले नेपाल कृषि बजार विकास कार्यक्रम सहज विराटनगरको सहकार्यमा "कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती" विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। यस ऐतिहासिक कार्यक्रममा निजी क्षेत्रका प्रमुख उद्योगी र व्यवसायीहरूले कोशी प्रदेशको समृद्धि र विकासमा पूर्ण योगदान दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरू, सचिवहरू र प्रदेश लगानी प्राधिकरणका पदाधिकारीहरू उपस्थित थिए। सबै सहभागीहरूले एउटै स्वरमा कोशी प्रदेशको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै, एकताको सन्देश दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतका प्रमुख व्यक्तिहरूले कोशी प्रदेश सरकारको योजना र प्रस्तावलाई उच्च सराहना गर्दै, लगानी र पर्यटन क्षेत्रमा थप सशक्त कदम चाल्नका लागि आफूहरूको सधैं समर्थनको प्रतिबद्धता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा १० वटा प्रमुख क्षेत्रको ६० परियोजनामा १ खर्ब ५० करोड रुपैयाँको लगानी भित्र्याउने लक्ष्य राखिएको जानकारी गराए। यसले कोशी प्रदेशलाई मात्र होइन, सम्पूर्ण नेपाललाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउने विश्वास व्यक्त गरियो।
मुख्यमन्त्री कार्कीले भने, “पहिलो लगानी सम्मेलनबाट कोशी प्रदेशमा विदेशी लगानी भित्र्याउने स्पष्ट सम्भावना देखिएको छ। ऐन र कानूनमा सुधार ल्याएर हामीलाई थप सरल र सशक्त लगानी वातावरण सिर्जना गर्ने दिशा तय गरिएको छ। यसले प्रदेशको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
साथै, कोशी प्रदेशका उद्योगी र व्यवसायीहरूले औद्योगिक कोरिडोरको विस्तार, शहरहरूको सुविधा वृद्धि र युवा पलायन रोक्नका लागि सडक मार्गको विकासमा सरकारको ध्यानाकर्षण गराएका छन्। कोशी प्रदेशलाई समृद्ध बनाउने यात्रामा निजी क्षेत्रको संलग्नता र सरकारको दृढ इच्छाशक्ति अझ बढी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।
कोशी प्रदेश सरकारले आगामी लगानी सम्मेलन र पर्यटन वर्षलाई पूर्ण सफलता दिलाउने लक्ष्य राख्दै, समृद्ध कोशी प्रदेश र सम्पन्न नेपाल निर्माण गर्नका लागि सबैको सक्रिय योगदान र सहयोगको अपेक्षा राखेको छ।
View : 35
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved