Biratnagar, Morang, Nepal
पर्यटन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

-
अखवारका कुरा
१९ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ । सन् २०२६ को मे महिनामा नेपालमा कुल १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो भने कोभिड महामारीअघि सन् २०१९ को मे महिनाको ७८ हजार ३२९ आगमनको तुलनामा ३१ प्रतिशतले उच्च रहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसारमे महिनाको तथ्याङ्कले नेपालको पर्यटन क्षेत्रमा विश्वव्यापी विश्वास बढ्दै गएको र नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्ने अभियानले सकारात्मक परिणाम दिन थालेको संकेत गरेको छ । पर्यटक आगमनका आधारमा भारत नेपालका लागि सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । मे महिनामा भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३९.७४ प्रतिशत हो ।

त्यसपछि चीनबाट ११ हजार ५१४ (११.२२ प्रतिशत), अमेरिकाबाट ९ हजार १ (८.७७ प्रतिशत), बंगलादेशबाट ५ हजार २९८ (५.१६ प्रतिशत) तथा बेलायतबाट ३ हजार ३७५ (३.२९ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट आउने पर्यटकको हिस्सा सबैभन्दा धेरै ४७.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत, अन्य क्षेत्रबाट ४.५ प्रतिशत, ओसियानियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।

पर्यटन क्षेत्रका सरोकारवालाले पछिल्ला तथ्याङ्कले नेपालको पर्यटन उद्योग महामारीपछिको पुनरुत्थान मात्र नभई नयाँ उचाइतर्फ अग्रसर रहेको संकेत गरेको बताएका छन् ।

View : 15

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved