पाँचथर पाँचथर जिल्लामा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुरक्षा, रोगको रोकथाम तथा स्वस्थ समाज निर्माणमा खोप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। खोपका कारण विश्वभर हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जोगिने गरेको उल्लेख गर्दै नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममार्फत बालस्वास्थ्य सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिइयो।
हाल नेपालमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई १४ प्रकारका रोगविरुद्ध खोप प्रदान गरिँदै आएको छ। बीसीजी, ओपीभी, आईपीभी, पेन्टाभ्यालेन्ट, पीसीभी, रोटाभाइरस, मिजल्स–रुबेला तथा जेई लगायतका खोप नियमित रूपमा उपलब्ध गराइँदै आएका छन्। यी खोपले क्षयरोग, पोलियो, डिप्थेरिया, टिटानस, हेपाटाइटिस–बी, निमोनिया र दादुरा जस्ता गम्भीर रोगबाट बालबालिकालाई सुरक्षित राख्न सहयोग पुर्याउने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार देशमा १२ महिनाभित्रका करिब ८० प्रतिशत बालबालिकाले आधारभूत सबै खोप प्राप्त गरेका छन्। तर अझै केही बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको अवस्था भएकाले त्यसतर्फ थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनकै कारण नेपालले सन् २०१४ मा मातृ तथा नवजात टिटानस उन्मूलन गर्न सफल भएको तथा सोही वर्षदेखि पोलियोमुक्त देशको अवस्था कायम राख्दै आएको जानकारी कार्यक्रममा दिइयो। साथै दादुरा–रुबेला नियन्त्रणतर्फ पनि उल्लेखनीय प्रगति भएको जनाइएको छ।
कार्यक्रममा छुटेका बालबालिकाको पहिचान तथा नियमित अनुगमन, खोप सेवाको गुणस्तर र पहुँच सुधार, कोल्ड चेन व्यवस्थापन सुदृढीकरण, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा खोपसम्बन्धी भ्रम र हिचकिचाहट हटाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा खोपको महत्वबारे जनचेतना फैलाउन, छुटेका बालबालिकाको पहिचान गर्न तथा अभिभावकलाई खोप कार्यक्रममा सहभागी गराउन खेलेको भूमिकाको प्रशंसा गरिएको थियो।
कोशी प्रदेश सरकारले बालस्वास्थ्य सुधारका लागि खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा खोपको पहुँच विस्तार, गुणस्तर सुधार तथा दिगोपना सुनिश्चित गर्न आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा सहयोग पुर्याउने सबै निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved