विराटनगर - विराटनगरमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर किङ्सको नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न प्रस्ताव गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको पहिचान झल्किने गरी फ्रेन्चाइज टिमको नामकरण भए स्थानीय क्रिकेट संस्कृतिलाई थप बल पुग्ने धारणा राखे । उनले कोशी प्रदेशमा क्रिकेटको सम्भावना उच्च रहेको उल्लेख गर्दै खेलकुद विकासमा प्रदेश सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभाको सन्दर्भमा उनले नेपाल प्रिमियर लिग (एनपीएल) प्रति प्रदेश सरकार सकारात्मक रहेको जनाउँदै आवश्यक सहकार्य र सहयोगका लागि तयार रहेको पनि स्पष्ट पारे । एनपीएलसँग जोडिएर प्रदेशमा क्रिकेट पूर्वाधार र प्रतिभा विकासका कार्यक्रमलाई अघि बढाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा क्यान अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेटको बदलिँदो अवस्थाबारे टिप्पणी गर्दै कुनै समय राष्ट्रिय टोलीमा विराटनगरबाट ७–८ जना खेलाडीको प्रतिनिधित्व हुने गरेको स्मरण गरे । तर अहिले त्यो संख्या घट्दै गएको उल्लेख गर्दै उनले स्तरीय खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
चन्दले प्रदेशस्तरमा आधारभूत प्रशिक्षण र संरचनागत सुधार बिना राष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन कठिन हुने बताए । उनले घरेलु संरचना बलियो बनाउन सके मात्रै नेपाली क्रिकेटले दीर्घकालीन सफलता हासिल गर्न सक्ने धारणा राखे ।
साधारणसभामा क्यानका पदाधिकारीहरूले नेपाली क्रिकेटको व्यावसायिक विस्तार, एनपीएलको प्रभाव र भविष्यका विकास योजनाबारे जानकारी गराएका थिए । सहभागीहरूले प्रदेशस्तरमा फ्रेन्चाइज क्रिकेट विस्तारले युवा खेलाडीका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।
View : 48
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved