काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्ने भएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमध्ये कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान मात्रै ३३ दशमलव ४३ प्रतिशत रहनेछ । सेवा क्षेत्रको हिस्सा ५२ दशमलव ७ प्रतिशत भए पनि औद्योगिक तथा उत्पादनमुखी द्वितीय क्षेत्रको योगदान भने १३ दशमलव ७ प्रतिशतमा सीमित रहने देखिएको छ ।
तथ्यांकले प्रदेशमा औद्योगिक विस्तार अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ । प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १ हजार १७० अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत १ हजार ५१३ डलरभन्दा निकै कम हो ।
स्थिर मूल्यमा प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव २८ प्रतिशत रहने अनुमान गरिएको छ । यो राष्ट्रिय औसत ३ दशमलव ८५ प्रतिशतभन्दा कम हो ।
यद्यपि, वित्तीय तथा बीमा क्षेत्रमा सबैभन्दा उच्च ७ दशमलव ९८ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । यातायात पूर्वाधार विस्तार र इन्टरनेट पहुँच बढेसँगै यातायात, भण्डारण तथा सूचना–सञ्चार क्षेत्रमा पनि सकारात्मक वृद्धि देखिएको छ । तर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने शून्य दशमलव १८ प्रतिशत ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ । सरकारी खर्च न्यून रहनु यसको मुख्य कारण मानिएको छ ।
View : 26
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved