विराटनगर - यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार शम्भू पोखरेललाई प्रदान गरिएको छ ।
पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पोखरेललाई ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरे ।
पुरस्कार प्रदान गर्दै मन्त्री शेर्पाले पत्रकारितालाई समाजको ऐनाका रूपमा व्याख्या गर्दै जनसरोकारका विषयलाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले सञ्चार क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि प्रदेश सञ्चार प्रतिष्ठान गठन गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङकी अध्यक्ष सुशीला पाठक, महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, प्रतिष्ठानका सदस्यसचिव कविराज न्यौपाने र कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहालले पत्रकारिताले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खेलेको भूमिकाको चर्चा गरे ।
उनीहरूले सञ्चार क्षेत्रको योगदानलाई राज्यले आत्मसात गर्दै पत्रकारको व्यावसायिक सुरक्षा र पत्रकारिताको विकासमा थप ध्यान दिनुपर्ने धारणा राखे ।
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved