रामेछाप । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा रामेछाप जिल्लाले उत्साहजनक सफलता हासिल गरेको छ । जिल्लामा यस वर्ष ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाका सामुदायिकतर्फ ८५ तथा संस्थागततर्फ ३ गरी ८८ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । नियमिततर्फ साधारण धारमा २ हजार १ सय ३६ र प्राविधिक धारमा १४४ गरी कुल २ हजार २८० विद्यार्थी परीक्षामा सहभागी थिए ।
तीमध्ये १ हजार ८५४ विद्यार्थी ग्रेडेड भएका छन् भने ४२६ विद्यार्थी नन–ग्रेडेड भएका छन् । समग्रमा जिल्लाको ग्रेडेड प्रतिशत ८१ दशमलव ३२ रहेको छ ।
साधारण धारतर्फ १ हजार ७१० विद्यार्थी ग्रेडेड भएका छन् । यस धारमा ग्रेडेड प्रतिशत ८० दशमलव ०६ रहेको छ । यता प्राविधिक धारतर्फ सहभागी सबै १४४ विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् ।
यस वर्ष जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ३६ रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए प्राप्ट गरेका छन्। यस समूहमा ६२४ विद्यार्थी छन् । २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ४५७ रहेको छ ।
त्यस्तै ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने ४११ विद्यार्थी रहेका छन् भने ३ दशमलव ६१ देखि ४ जिपिए हासिल गर्ने विद्यार्थी सङ्ख्या २८६ पुगेको छ ।
जिल्लाको नमुना सामुदायिक विद्यालयको रूपमा रहेको डहु मावि वेथानले रिजल्टमा यस वर्ष पनि सबै विद्यालयलाई उछिनेको छ । जिल्लाको सुनापाति गाउँपालिका–४ बेथानस्थित डहु माध्यमिक विद्यालयका ११ विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
विद्यालयका कुल ६६ विद्यार्थीमध्ये ११ जनाले ४ जिपिए प्राप्त गरेका हुन् । विद्यालयका अनुसार प्राविधिक धार कम्प्युटर इन्जिनियरिङतर्फ अध्ययनरत ९ तथा साधारण धारतर्फका २ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । त्यस्तै, प्राविधिक धारतर्फ ३८ जनाले ३.६० देखि ३.९६ जिपिए प्राप्त गरेका छन् भने एक जनाले ३.५९ जिपिए ल्याएका छन् । साधारण धारतर्फ ९ जनाले ३.६० देखि ३.९६, ५ जनाले ३.२० देखि ३.६० र २ जनाले २.८० देखि ३.२० जिपिए ल्याएका छन् ।
सो विद्यालयले गत वर्ष पनि जिल्लामा उत्कृष्ट नतिजा ल्याएको थियो ।
संस्थागत विद्यालय तर्फ भने मन्थलीको तामाकोसी इङ्लिस बोर्डिङ स्कुलले सर्वोत्कृष्ट नतिजा ल्याएको छ । सो विद्यालयबाट १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
View : 67
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved