Biratnagar, Morang, Nepal
सामाजिक सेवा

कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै प्रमुख निर्वाचन आयुक्त कार्की सम्मानित

३ कार्तिक २०८३, सोमवार

Advertisement

मुडुला कार्की कुलायन समाजले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सम्मान गरेको छ। मुडुला कार्की वंशका कार्कीले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा पुगेर कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै समाजले सम्मान गरेको हो।

समाजको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम अध्यक्ष रेवतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका विराटनगर महानगर सभापति कृष्ण कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीलगायत कार्की बन्धुहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेवतबहादुर कार्कीले समाज कुलको प्रतिष्ठा जोगाउने कार्यमा अघि बढिरहेको बताए। उनले सचिवालय निर्माण, वंशावली तयार गर्ने तथा देशभरका मुडुला कार्की बन्धुहरूलाई समाजको अभियानमा जोड्ने कार्य तदारुकताका साथ अघि बढाइने जानकारी दिए।

कुलको पहिचान र मानमर्यादा कायम राख्दै समाजलाई अगाडि बढाउने विषयमा अध्यक्ष कार्कीले जोड दिए। सचिवालय र वंशावली निर्माणसँगै देशभर रहेका बन्धुहरूलाई एकताबद्ध गर्ने अभियानलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

नेपाली काङ्ग्रेसका विराटनगर महानगर सभापति कृष्ण कार्कीले राजनीतिक तथा व्यावसायिक आबद्धता फरक भए पनि कुलको पहिचान, प्रतिष्ठा र सामाजिक हितका विषयमा एकताबद्ध हुनुपर्ने बताए।

“हामी विभिन्न राजनीतिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध भए पनि कुलको पहिचान, प्रतिष्ठा र सामाजिक हितका विषयमा एकताबद्ध हुनुपर्छ। आपसी सहयोग र सद्भाव कायम राख्दै नयाँ पुस्तालाई पनि समाजसँग जोड्न आवश्यक छ,” उनले भने।

शुभकामना आदानप्रदानसँगै आयोजित सम्मान कार्यक्रम कार्की बन्धुहरूबीच भेटघाट, आत्मीयता र आपसी सद्भाव साटासाट गर्ने अवसरसमेत बनेको थियो।

 

View : 50

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved