विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षल भोलि आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै इतर समूहले भोलि बिहान ११ बजे विराटनगरमा आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनेछन् । भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए उनले भने, ‘हामीले कुनै व्यक्ति वा गुटको स्वार्थका लागि यो भेला गरेका होइनौँ । कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाउन हामी दबाब समूहका रूपमा प्रस्तुत भएका हौँ । नेतृत्वले अब पनि विपनामा आएर पार्टीको समस्या समाधान गर्ने आँट देखाउनुपर्छ ।’
पत्रकार सम्मेलनमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापाको नेतृत्वले महाधिवेशनको मिति पटक–पटक सारेर कार्यकर्तामा अन्योल सिर्जना गरेको बताए ।
कार्कीले अहिलेको सदस्यता अध्यावधिक प्रक्रिया प्राविधिक रूपमा गलत भएको दाबी गर्दै यसले पार्टीको छविमा धक्का पुग्ने बताए । ‘अहिलेको अध्यावधिक प्रक्रियाले हिजो कांग्रेस विरुद्ध बागी उमेदवार बनेका वा अन्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरूलाई समेत सजिलै पार्टीभित्र हुल्ने काम गरेको छ । यस्तो प्रक्रियाले सच्चा र पुराना कार्यकर्ताको अपमान हुन्छ’ उनले भने । १५ औ महाधिबेशन भाड्न खोजेको उनले आरोप लगाए ।
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर समेत रहेका मोरङका जिल्ला उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाई लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । उनीहरुले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जवाफदेही बनाउन भोलिको भेला कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
View : 60
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved