Biratnagar, Morang, Nepal
स्थानीय तह

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला

-
अखवारका कुरा
१५ पुष २०८२, मङ्गलवार

Advertisement


विराटनगर :  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । 

तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् ।

मेयर कोइरालाका अनुसार परम्परागत भेषभूषा, मौलिक नृत्य–संगीत, पारिवारिक जमघट र आपसी सम्मानमार्फत तमु समुदायले आफ्नो पहिचान, इतिहास र सांस्कृतिक मूल्य–मान्यतालाई पुस्तान्तरण गर्दै आएको छ । ल्होसारले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ संकल्पका साथ अघि बढ्न प्रेरणा दिने र सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने उनले उल्लेख गरेका छन् ।

विराटनगर बहुसाम्प्रदायिक, बहुधार्मिक र बहुसांस्कृतिक सहर भएको उल्लेख गर्दै मेयर कोइरालाले यहाँ विभिन्न भाषा, संस्कृति र परम्पराहरू आपसी सम्मान र सहकार्यका आधारमा विकसित हुँदै आएको बताए । यस्ता विविधताहरू नै विराटनगरको शक्ति र पहिचान भएको उनको भनाइ छ । तमु ल्होसारजस्ता पर्वहरूले समुदायबीचको आपसी विश्वास, सामाजिक समरसता र एकतालाई थप सुदृढ बनाउने उनले बताए ।

उनले विराटनगर महानगरपालिका सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र समावेशी विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै सबै समुदायका पर्व–उत्सवहरूलाई समान सम्मानका साथ मनाउने वातावरण निर्माण गर्नु साझा दायित्व भएको धारणा व्यक्त गरे । तमु ल्होसारले सकारात्मक सोच, मेहनत, अनुशासन र सहकार्यको सन्देश दिँदै समृद्ध विराटनगर र समुन्नत नेपालको लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।

मेयर कोइरालाले तमु ल्होसार–२०८२ को अवसरमा सम्पूर्ण तमु समुदायसहित देश तथा विदेशमा रहेका सबै नेपालीहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

 

View : 38

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved