विराटनगर । जलन (बर्न) का बिरामीको प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा बेसिक बर्न केयर तालिम सुरु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा अप्रेसन स्माइलको प्राविधिक सहयोग तथा फेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेको तालिममा कोशी प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सहभागिता रहेको छ।
तालिममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईको समुहले प्रशिक्षण दिइरहेका छन्। उनले जलनको अवस्था पहिचान, प्राथमिक उपचार, बिरामीको प्रारम्भिक स्थिरीकरण, घाउको व्यवस्थापन, संक्रमणको जोखिम न्यूनीकरण तथा गम्भीर बिरामीलाई समयमै विशेषज्ञ सेवामा रेफर गर्नेसम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन्।
जलनका बिरामीमा सुरुवाती उपचार निकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्यकर्मीलाई सही समयमा सही उपचार प्रक्रिया अपनाउन सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। आगलागी, तातो पानी, विद्युत् तथा अन्य दुर्घटनाबाट हुने जलनका घटनामा तत्काल गरिने प्राथमिक उपचारबारे समेत सहभागीलाई जानकारी दिइँदैछ।
गम्भीर जलन भएका बिरामीमा श्वासप्रश्वासमा समस्या, शरीरमा पानीको कमी तथा संक्रमणजस्ता जटिलता आउन सक्ने भएकाले प्रारम्भिक अवस्थामै जोखिम पहिचान गरी आवश्यक उपचार र रेफरल गर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ।
तालिमले कोशी प्रदेशका स्वास्थ्य संस्थामा जलनका बिरामीको प्रारम्भिक उपचार क्षमता अभिवृद्धि गर्नुका साथै समयमै विशेषज्ञ उपचारमा पहुँच पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved