प्रमिला कार्की, नेपाल न्यूज बैंक
काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा एचआईभी नियन्त्रण र उन्मूलनतर्फको प्रगति उल्लेखनीय रूपमा अगाडि बढिरहेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले नेपालमा हाल एचआईभीको एस्टिमेटेड पपुलेसन करिब ३४ हजार रहेको बताए । उनको भनाई अनुसार २७ हजार भन्दा बढी संक्रमितले नियमित रूपमा फ्री एआरटी सेवा प्राप्त गरिरहेका छन् ।
उनले नेपालले सन् २०३० सम्म एचआईभी, एसटीआई र हेपाटाइटिस–सी को उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य अनुरूप ‘९५–९५–९५’ उद्देश्यमा ठोस प्रगति गरिरहेको बताए ।
पहिलो (एचआईभी परीक्षण गर्ने लक्ष्य) मा नेपाल ९० प्रतिशत, दोस्रो (औषधि उपचारमा ल्याउने) मा ८८ प्रतिशत, तेस्रो (भाइरल लोड दबाउने) मा ७६ प्रतिशतमा पुगेको उनले जानकारी दिए ।
उनले भने, ‘अहिले एचआइभी संक्रमितको अवस्था इस्टिमेटेड पपुलेसन ३४ हजार हो । त्यसमा हाम्रो टार्गेट भनेको सन् ३० सम्ममा एचआईभीलाई इलिमेनेसन गर्ने भन्ने हो । पपुलेसनमा हामीले टेस्ट गर्ने र तथ्यांक निकाल्ने हो । त्यो टेस्ट गर्दाखेरि हामीले ९५ प्रतिशत पुर्याउनुपर्छ ।’
डा.शर्माका अनुसार पछिल्ला १० वर्षमा नेपालमा नयाँ एचआईभी संक्रमण ७६ प्रतिशतले घटेको छ भने मृत्यु हुने दर पनि ७६ प्रतिशतले कमी आएको छ ।
उनले भने, ‘तर टेस्टिङ गरेर औषधि खाने हकमा घटेको छ । सन् २०१० देखि अहिलेसम्मको डाटा हेर्ने हो भने नयाँ इन्फेक्सन एचआईभीको ७६ प्रतिशतले घटेको छ र एचआईभीबाट मृत्यु हुने दर पनि ७६ प्रतिशतले घटेको छ । त्यो भनेको संक्रमित त्यसरी बढेको छैन ।’
यसैगरी डा.शर्मा नेपालमा एचआईभी नियन्त्रणको अवस्था सकारात्मक दिशामा अघि बढिरहेको बताउँछन् । उनका अनुसार सन् २०३० सम्म एचआईभी, एसटीआई र हेपाटाइटिस–सी उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यअनुसार नेपालले ‘९५–९५–९५’ सूचकमा उल्लेखनीय प्रगति गरेको छ ।
परीक्षणमा पहिलो ९५ को लक्ष्यमध्ये ९० प्रतिशत प्राप्त, उपचारमा दोस्रो ९५ को लक्ष्यमा ८८ प्रतिशत, भाइरल लोड दबाउने तेस्रो ९५ मा ७६ प्रतिशत पुगेको उनले बताए ।
नयाँ संक्रमण र मृत्यु दर घट्दै
डा. शर्माका अनुसार पछिल्ला दशकमा एचआईभीका नयाँ संक्रमण ७६ प्रतिशतले घटेका छन् । मृत्यु दर पनि उस्तै प्रतिशतले कम भएको बताउँदै उनले नेपालको प्रगति दक्षिण एसियाका अन्य राष्ट्रहरूभन्दा अघि रहेको दाबी गरे ।
९६ एआरटी साइट सञ्चालनमा
देशभर ९६ वटा एआरटी साइट सक्रिय रहेको र सेवा विस्तार गर्दै सबै ७७ जिल्लामा उपचार उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । परीक्षण, उपचार, औषधि, भाइरल–लोड परीक्षणदेखि गर्भवती महिलामा संक्रमण रोकथामसम्मका सबै सेवा निःशुल्क उपलब्ध रहने उनले स्पष्ट पारे ।
व्यक्तिगत सतर्कता र समयमै परीक्षणको महत्त्वबारे उनले जोड दिंदै भने, ‘राज्यले औषधि र उपचार उपलब्ध गराइदिन्छ, तर जाँच र उपचारका लागि आफ्नो जिम्मेवारी नागरिकले पनि पूरा गर्नुपर्छ ।’
लक्षित समूहमा बढी संक्रमण
नेपाल हाल कन्सन्ट्रेटेड एपिडेमिकको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा प्रचलन ५ प्रतिशत भन्दा बढी देखिने भएकाले जोखिम उच्च रहेको बताए । त्यसका साथै भारत जाने माइग्रेन्ट कामदार, सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौनकर्मी, कारागारका कैदीबन्दी, र एचआईभी पोजिटिभ व्यक्तिका परिवार मुख्य कि–पपुलेसन रहेको उनले बताए ।
सेवा विस्तार र राज्यको तयारी
उनले देशभर ९६ वटा एआरटी साइट सञ्चालनमा रहेको र आगामी वर्षहरूमा सबै ७७ जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । परीक्षण, उपचार, भाइरल–लोड जाँचदेखि लिएर गर्भवती महिलामा संक्रमण रोकथाम कार्यक्रमसम्म सबै सेवा पूणरूपमा निःशुल्क रहेको उनले स्पष्ट पारे ।
विशेषगरी अन्तर्राष्ट्रिय दाता निकायको सहयोग घट्दै गएको अवस्थामा नेपाल सरकारले उपचार, औषधि आपूर्ति र परीक्षण सेवालाई सस्टेनेबल बनाउँदै लगेको उनले बताए । ‘कतिपय अफ्रिकी देशमा एआरटी केन्द्र बन्द भए, तर नेपालमा त्यो अवस्था आउन दिइएन,’ उनले भने।
चुनौतीः दाता सहयोग घट्दै
अमेरिकी सरकारको नीतिगत परिवर्तन पछि केही समुदाय–केन्द्रित कार्यक्रम (कण्डम, लुब्रिकेन्ट वितरणजस्ता) प्रभावित भएको उनले स्वीकारे । तर आगामी बजेट र नयाँ रणनीतिमा ती सेवालाई राज्यकै खर्चमा समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नागरिकको जिम्मेवारी पनि महत्वपूर्ण
डा. शर्माले एचआईभी परीक्षण, समयमै उपचार लिनु र नियमित औषधि सेवन गर्नु प्रत्येक नागरिकको व्यक्तिगत दायित्व भएको उल्लेख गर्दै, ‘राज्यले सेवा उपलब्ध गराइदिन्छ, तर आफू अवेर भएर समयमै जाँच र उपचारमा जानुपर्छ,’ उनले भने ।
यस वर्षको विश्व एड्स दिवसको नारा (अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ) रहेको छ । उनका अनुसार ७७ वटै जिल्लामा एड्स दिवस मनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
उनले भने, ‘डिसेम्बर १ मा ३८ औँ विश्व एड्स दिवस भव्यतापूर्वक मनाइन्छ । यसले जनचेतना बढाउने र उन्मूलन लक्ष्यका लागि देशलाई एकताबद्ध गर्ने अवसर प्रदान गर्छ ।’
View : 38
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved