मोरङ क्षेत्र नम्बर ६ निर्वाचन क्षेत्र यसपटक प्रतिनिधिसभा निर्वाचनपछि विशेष चर्चामा आएको छ। कारण हो ,एउटै क्षेत्रबाट चार जना सांसद संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्था बन्नु। प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्य निर्वाचित हुँदा समानुपातिकतर्फ नेकपा एमालेका गुरु बराल तथा नेपाली कांग्रेसबाट रुकमणी कोइराला र डा. प्रमिला गच्छदार प्रतिनिधिसभामा पुगेका छन्।
नेपालको मिश्रित निर्वाचन प्रणालीका कारण सम्भव भएको यो परिणामले मोरङ-६ को राजनीतिक चरित्रमा आएको परिवर्तन मात्र होइन, मतदाताको मनोविज्ञानमा देखिएको नयाँ प्रवृत्तिलाई पनि संकेत गरेको छ।
प्रत्यक्षतर्फ रुबिना आचार्यको जितलाई मोरङ-६ का मतदाताले देखाएको ‘परिवर्तनको चाहना’ का रूपमा व्याख्या गरिएको छ। लामो समयदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको क्षेत्रमा नयाँ राजनीतिक शक्तिलाई जित दिलाउनु मतदाताले परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्टि जनाएको संकेतका रूपमा पनि हेरिएको छ।
तर समानुपातिक परिणामले भने अर्को सन्देश दिएको छ। मोरङमा पुराना दलहरूको सामाजिक तथा संगठनात्मक आधार अझै बलियो छ। एमालेका नेता गुरु बराल प्रतिनिधिसभामा पुग्नुले पार्टीले मोरङलाई अझै रणनीतिक क्षेत्रका रूपमा महत्व दिएको देखिन्छ। बराल लामो समयदेखि मोरङको राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय नेताका रूपमा चिनिन्छन्।
नेपाली कांग्रेसबाट रुकमणी कोइराला र डा. प्रमिला गच्छदारको प्रतिनिधिसभा यात्रा पनि महत्वपूर्ण मानिएको छ। कांग्रेसको संगठनात्मक प्रभाव मोरङमा अझै कायम रहेको नेपाली काङ्ग्रेसका युवा नेता दिवस राजवंशी बताउछन ।
यसपटकको परिणाममा अर्को रोचक संयोग पनि देखिएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ४ बाट बसोबास गर्ने दुई महिला नेतृ, रुबिना आचार्य र डा. प्रमिला गच्छदार ,दुवै जना प्रतिनिधिसभामा पुगेका छन्। एउटै वडाबाट दुई सांसद बन्नु स्थानीय स्तरमै चर्चा र गर्वको विषय बनेको छ। यसले विराटनगर- ४ लाई पनि राष्ट्रिय राजनीतिमा विशेष पहिचान दिलाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मोरङ-६ को परिणामले नेपालको वर्तमान राजनीतिक अवस्थाको एउटा स्पष्ट चित्र प्रस्तुत गर्छ। मतदाताले परिवर्तन पनि चाहेका छन् र पुराना दललाई पूर्ण रूपमा अस्वीकार पनि गरेका छैनन्। प्रत्यक्षमा नयाँ दललाई अवसर दिनु र समानुपातिकमा पुराना दललाई स्थान दिनु यही सन्तुलित सन्देशको प्रतिबिम्ब हो।
अब भने चुनौती प्रतिनिधित्वको प्रभावकारितामा देखिएको छ। एउटै क्षेत्रबाट चार सांसद पुगेपछि मोरङ ६ का विकास, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दा संसदमा अझ बलियो रूपमा उठ्ने अपेक्षा गरिएको छ।
फरक-फरक दलबाट प्रतिनिधित्व भए पनि साझा मुद्दामा सहकार्य हुन सके मोरङ-६ ले आगामी दिनमा थप लाभ लिन सक्ने विश्वास गरिएको छ।
View : 53
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved