Biratnagar, Morang, Nepal
+977-9708590006
खेलकुद

जनकपुर बोल्ट्स द्वारा लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत

-
अखवारका कुरा
२३ मंसिर २०८१, आइतवार

Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो । 

जनकपुरका ओपनर अनिल साहले सर्वाधिक ४५ रन बनाए । यसक्रममा उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ५.३ ओभरमा ४८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । आसिफले १० बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए ।

८–१ बाट अनिलले तेस्रो विकेटका निम्ति लहिरु मिलान्थासँग ४७ रनको साझेदारी गर्दै जनकपुरलाई ९५ रनको स्कोरसम्म पुर्‍याएका थिए । मिलान्थाले २३ बलमा दुई चौकासहित २४ रन थपे । अविजित रहेका सुभ कंशाकारले २४ बलमा दुई छक्कासहित २२ रन बनाए । यसबाहेक, जनकपुरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । उत्कृष्ट सुरुआतका बाबजुद मध्यक्रमका ब्याटर सस्तैमा आउट हुँदा जनकपुर विशाल योगफलसम्म पुग्न सकेन ।

जनकपुरले ११.२ ओभरसम्म ९५ रन बनाउँदा एक विकेटमात्र गुमाएको थियो । तर, सोही ओभरको तेस्रो बलमा कप्तान अनिल साहलाई गुमाएपछि भने जनकपुरले लगातार अरु तीन विकेट गुमायो ।

लुम्बिनीका सन्दीप जोराले विवेक यादवबाट अनिललाई क्याच गराएका थिए । यसपछि १३औँ ओभर बलिङका निम्ति आएका अभिषेक गौतमले एकै ओभरमा तीन विकेट लिँदै जनकपुरको मध्यक्रम धरासायी बनाएका थिए । अभिषेकले १३औँ ओभरको दोस्रो बलमा लहिरु मिलान्थालाई अर्जुन साउदबाट स्टम्पिङ गरे । सोही ओभरको चौथो बलमा अभिषेकले हर्ष थाकेरलाई दुर्गेश गुप्ताबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा पनि अभिषेकले जिम्मी निसमलाई विकेटकिपर जिम्मी निसमबाट क्याच गराए ।

जनकपुरले १६औँ ओभरमा पुनः दुई विकेट गुमायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले उक्त ओभरको दोस्रो ओभरमा मोहमद मोहसिन र चौथो बलमा शेर मल्ललाई एलबीडब्लूको धरापमा पारे । 

जनकपुरलाई मध्यम योगफलमा रोक्न लुम्बिनीका अभिषेक गौतमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अभिषेकले २० रन खर्चिए । साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । सन्दीप जोराको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार बेहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो । 

View : 57

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved