Biratnagar, Morang, Nepal
सामाजिक सेवा

अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामग्री वितरण, रामधुनी भ्रमण गराउने तयारी

-
अखवारका कुरा
२९ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर : अपाङ्गताको क्षेत्रमा १७ वर्षदेखि सक्रिय सामर्थ्य समाजले चालु आर्थिक वर्षअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री वितरण गरेको छ। विराटनगर महानगरपालिका-१० को सहकार्यमा वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र आवश्यकताको पहिचान गरी सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

विराटनगर-१० स्थित विराटनगर जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि थिए। संस्थाका अध्यक्ष चेतनाथ पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। वडाका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष पोखरेलले वडा कार्यालयको समन्वय र सहयोगले लक्षित वर्गसम्म प्रत्यक्ष रूपमा सहायता पुर्‍याउन सहज भएको बताए। कार्यक्रम स्थल उपलब्ध गराएकोमा उनले विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालसहित सम्पूर्ण जेसीज परिवारप्रति आभार व्यक्त गरे।

सामर्थ्य समाजले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता र आत्मसम्मान अभिवृद्धि गर्ने उद्देश्यले यसै बजेटअन्तर्गत सुनसरीस्थित ऐतिहासिक तथा धार्मिक स्थल रामधुनी र आसपासका क्षेत्रमा अवलोकन भ्रमण गराउने तयारीसमेत गरेको जनाएको छ।

संस्थाले यस्ता गतिविधिले अपाङ्गता भएका व्यक्तिहरूको मनोबल बढाउनुका साथै समावेशी समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

View : 70

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved