विराटनगर : बालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद मेहताले मन्त्रिपरिषद्मा स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेकी हुन्।
सुनसरीको इनरुवा निवासी ३८ वर्षीया मेहता पेशाले नर्स हुन्। उनले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर (एमएस्सी नर्सिङ) अध्ययन गरेकी छन्। राजनीतिमा सक्रिय हुनुअघि उनी विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल मा उपप्राध्यापकका रूपमा कार्यरत थिइन्। सांसदको प्रमाणपत्र पाएपछि उनले पेशागत जिम्मेवारीबाट राजीनामा दिएकी थिइन्।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय मेहता पार्टीकी केन्द्रीय सदस्यसमेत हुन्। उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा कार्यरत छन्।
स्वास्थ्यमन्त्रीका लागि पार्टीभित्र अन्य चिकित्सक सांसदहरूको नाम चर्चामा रहे पनि प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछाने ले मेहतामाथि विश्वास गर्दै जिम्मेवारी दिएका हुन्।
मन्त्रालयमा आयोजित पदबहाली कार्यक्रममा मन्त्री मेहताले स्वास्थ्य जनशक्तिलाई स्वदेशमै टिकाइराख्न आवश्यक वातावरण निर्माणमा जोड दिइन्। “स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला दिनुपर्छ, उनीहरूलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ,” उनले भनिन्। जनशक्तिलाई सन्तुष्ट बनाउन सके मात्र सेवामा सुधार आउने र नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउने उनको भनाइ थियो।
उता, आफ्नै संस्थाकी पूर्वउपप्राध्यापक स्वास्थ्यमन्त्री बनेपछि विराट मेडिकल कलेज टिचिङ हस्पिटल परिवारले खुसी व्यक्त गरेको छ। संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मेहताको नियुक्तिलाई संस्थाका लागि गौरवपूर्ण क्षण भएको बताउँदै सफल कार्यकालको शुभकामना दिएका छन्। नर्सिङ शिक्षा र स्वास्थ्य सेवामा उनले पुर्याएको योगदान स्मरणीय रहने उल्लेख गर्दै संस्थाले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरेको जनाएको छ।
View : 48
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved