धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ग्रासरुट क्रिकेट कार्यक्रम थप १२ वटा वडामा विस्तार गरिएको छ । ग्रासरुटबाट फुटबल खेल सञ्चालन गर्ने र राष्ट्रका लागि योग्य फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाले गत बर्षदेखि ग्रासरुट स्तरिय फुटबल कार्यक्रम सञ्चालन गरेको थियो ।
गत वर्ष धनगढीका चार वडामा सुरू भएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यस बर्षदेखि थप १६ वडामा विस्तार हुँदै धनगढीका १६ वटा वडामा सञ्चालन भएको छ । फागुन १ गतेदेखि १६ वटै वडामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन भएको उपमहानगरले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाको एक वडाको कम्तिमा एक स्थानमा बालबालिकालाई फुटबल प्रशिक्षण दिने नीति रहेको छ । बालबालिकालाई पढाइसँगै खेलकुदमा समेत संलग्न बनाउन ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले हरेक वडामा फुटबल मैदान तयार गरेर ग्रासरुट स्तरीय फुटबल प्रशिक्षण दिन लागेको हो । धनगढीको विभिन्न स्थानमा २१ वटा फुटबल मैदान तयार गरिएको खेलकुद शाखा प्रमुख केशव खत्रीले बताए ।
‘धनगढी उप महानगरपालिकाले ग्रासरुट फुटबल र क्रीकेट सुरू गरेको छ,’ उनले भने, ‘फुटबल खेल्न २१ वटा खेलमैदान तयार भएका छन् ।’
गत वर्ष धनगढी ७ को राष्ट्रिय माध्यमिक विद्यालय पटेला, वडा नम्बर ११ को दक्षिणकाली बहिरा आधारभूत विद्यालय र ठेकराज मावि, वडा नम्बर १६ को घसिटा तथा वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू भएको थियो ।
यो वर्ष वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्कको खैल मैदान तथा वडा नम्बर ५ को यातायात कार्यालय नजिकको श्रीकृष्ण खेल मैदानमा ग्रासरुट स्तरीय फुलबल प्रशिक्षण दिइने खेलकुद शाखा प्रमुख खत्रीले बताए ।
यस्तै वडा नम्बर ६ को धनगढी पोलिटेक्निकको खेल मैदान, वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लवको खेलमैदान, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय नजिकको खेल मैदान, वडा नम्बर १४ को टाउन प्लानिङकोफ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को सुर्मादेवी युवा क्लवको खेल मैदानमा ग्रासरुट स्तरीय फुलबल प्रशिक्षण हुनेछ ।
प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उपमहानगरले ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरेको जनाएको छ । कार्यक्रममा विद्यालय उमेरका बालबालिकाहरूलाई फुटबल खेल सम्बन्धी प्रविधिक र सैद्धान्तिक ज्ञान समेत दिइने छ । खेलमैदान रहेको क्षेत्रका फुटबल खेल्न इच्छुक सम्पूर्ण बालबालिकालाई प्रशिक्षण दिइने छ । धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरेर प्रशिक्षणको जिम्मा दिएको छ । यो वर्ष करिब पाँच हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको उपमहानरपालिकाले जनाएको छ ।
खेलकुद शाखा प्रमुख खत्रीले यो वर्ष धनगढीको १९ वटै वडामा ग्रासरुट स्तरीय फुटबल कार्यक्रम चलाउने योजना रहेको बताएका छन् । सबै वडामा प्रशिक्षण दिएपछि १९ वटा टिमबीच प्रतियोगिता गराएर उत्कृष्ट खेलाडी छनौट गरी उपमहानगरपालिकाको फुटबल टिम तयार गरिने खत्रीको भनाई छ ।
View : 21
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved