विराटनगर सेन्ट्रल मेघा लियो क्लबले आफ्नो १५औं स्थापना दिवसको अवसरमा ‘नेतृत्व तथा प्रेरणादायी विचार’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा ग्रीनल्याण्ड कलेजका करिब ९० जना विद्यार्थी उपस्थित थिए र उनीहरूले उत्साहपूर्वक सहभागिता जनाए।
पूर्व मल्टिपल डिस्ट्रीक्ट अध्यक्ष चाँद बाबु इराकीले प्रशिक्षणका क्रममा युवाहरूलाई नेतृत्व विकास, आत्मविश्वास निर्माण र सकारात्मक सोच अपनाउन आवश्यक सीपहरूको बारेमा मार्गदर्शन गरे। उनले जिम्मेवार नागरिक बन्न र समाजमा योगदान पुर्याउन नेतृत्व गुण र प्रेरणालाई अपरिहार्य बताउँदै अनुभवसहितका उदाहरण प्रस्तुत गरे।
कार्यक्रमका अध्यक्ष पवन काफ्लेले यस किसिमका गतिविधिले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक र सामाजिक क्षमतामा पनि विकास गर्ने बताए। उनले यस्ता अवसरले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने र उनीहरूको नेतृत्व क्षमता उजागर गर्ने विश्वास व्यक्त गरे।
क्लबका पदाधिकारीहरूले कार्यक्रममा सक्रिय सहभागिता देखाउने विद्यार्थी, ग्रीनल्याण्ड कलेज र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्तिहरूप्रति आभार प्रकट गरे। क्लबले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने लक्ष्य राखेको बताएको छ, जसले विद्यार्थीलाई नेतृत्व, सामाजिक जिम्मेवारी र प्रेरणादायी जीवन मूल्यमा मार्गदर्शन गर्नेछ।
कार्यक्रममा सहभागीहरूले आफूले पाएको प्रेरणा र अनुभवबाट आगामी दिनमा समाजमा सकारात्मक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमका कार्यक्रमले युवा पिढ़ीलाई मात्र होइन, समग्र समाजलाई नेतृत्व र सशक्तीकरणको दिशामा अघि बढाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
View : 549
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved