पिकल बल अब विराटनगरमा
खेलको व्यावसायिक प्रवर्द्धनका लागि पिकल बल एसोसिएसन अफ नेपालका मुख्य प्रशिक्षक कुमार प्रधानले दुई दिने प्रशिक्षण सुरु गरेका छन् । स्पोर्ट्स जोनका सञ्चालक हरि बजगाईंका अनुसार विराटनगरका खेलप्रेमीलाई नयाँपनको अनुभूति दिलाउन र शारीरिक फिटनेसका लागि यो खेल भित्र्याइएको हो ।
टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको समिश्रण मानिने यो खेल विशेष गरी ‘प्याडल’ र प्वाल पारिएको प्लास्टिकको बलले खेलिन्छ । यो खेल टेनिस कोर्टको तुलनामा करिब एक तिहाइ सानो क्षेत्रमा खेलिने हुनाले सबै उमेर समूहका लागि उपयुक्त मानिन्छ ।
प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक प्रधानले पिकल बललाई ‘सबैका लागि खेल’ (Sport for All) को रूपमा परिभाषित गरे । “यो खेल अमेरिका र युरोपमा अत्यन्तै लोकप्रिय छ, अब नेपालमा पनि यसको लहर सुरु भएको छ,” प्रधानले भने, “यसमा टेनिसको जस्तो धेरै दौडधुप गर्नु पर्दैन, तर ब्याडमिन्टन जस्तै फुर्तिलो हुनुपर्छ । यो खेलले मानसिक एकाग्रता र शारीरिक स्फूर्ति दुवै बढाउँछ ।”
प्रधानका अनुसार नेपालमा हालैका वर्षहरूमा पिकल बलप्रति युवा र वृद्धवृद्धा दुवैको आकर्षण बढेको छ । विराटनगरमा निर्माण भएको नयाँ पूर्वाधारले यस क्षेत्रमा व्यावसायिक खेलाडी उत्पादन गर्न र खेल पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
सञ्चालक बजगाईंका अनुसार पहिलो चरणमा इच्छुक खेलाडी र स्थानीयलाई खेलको नियम र प्राविधिक पक्षबारे जानकारी दिन मुख्य प्रशिक्षकबाटै तालिमको व्यवस्था गरिएको हो । आधुनिक कोर्ट र प्रशिक्षणको सुविधा उपलब्ध भएपछि विराटनगरमा यो खेलले चाँडै लोकप्रियता पाउने संचालक बजगाईँको अपेक्षा छ ।
View : 66
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved