Biratnagar, Morang, Nepal
देश

खाँडादेवी मन्दिर जाने सडकको स्तरोन्नति हुँदै, धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने

-
अखवारका कुरा
१७ जेठ २०८३, आइतवार

Advertisement

रामेछाप । रामेछापको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँडादेवी मन्दिर पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली–गाल्पा सडक खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सडक स्तरोन्नति कार्य सुरु भएको हो ।
खाँडादेवी मन्दिरसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सडक निर्माणको काम अघि बढाइएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए।
तीन किलोमिटर सो सडकका लागि कुल ७७ लाख रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि ३८ लाख ५० हजार रुपैयाँ छुट्याइएको थियो । सो बजेटबाट अहिले अप्ठेरा मोडहरूमा ढलान गर्ने काम भइरहेको छ ।
सो आयोजनाको बाँकी ३८ लाख ५० हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको बताइएको छ । करिब ३ किलोमिटर सडक स्तरोन्नतिपछि खाँडादेवी मन्दिरसम्मको यात्रा सहज हुने छ ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश समपूरक योजना अन्तर्गत सो सडकको थप स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरेको जानकारी दिए । खाँडादेवी क्षेत्रको धार्मिक तथा पर्यटन क्षेत्रको विकासका लागि सो योजना अघि सारिएको उनले बताए ।
खाँडादेवी मन्दिरलाई ऐतिहासिक एवं शक्ति पीठका रूपमा लिइन्छ । यो मन्दिरलाई किराँतकालीन सभ्यता र संस्कृतिसँग जोडिएको प्राचीन धार्मिक धरोहर मानिन्छ ।
विशेष गरी बडादशैँ, चैतेदशैँ तथा विभिन्न धार्मिक पर्वमा यहाँ दर्शन र बलि पूजा गर्नेको मेला नै लाग्दछ । अरू समय पनि वर्ष भरि नै नियमित रूपमा दर्शनार्थीहरु मन्दिरमा जाने गर्दछन् । काठमाडौं उपत्यकाबाट विशेष रूपमा मन्दिरमा दर्शन गर्ने मानिसहरू आउने गर्दछन् । देशै भर र भारतबाट समेत मन्दिरमा दर्शनार्थीहरु आउने गरेको पाइएको छ ।
काठमाडौं र तराइबाट बिपी मार्ग हुँदै सुनकोसीमा रहेको सित्खा र नेपालथोकको पुल तरेर खाँडादेवी पुग्न सकिन्छ । सित्खाबाट एक घण्टामा नै खाँडादेवी पुगिन्छ भने रामेछापको सदरमुकाम मन्थलीबाट पिन एक घण्टामा खाँडादेवी पुगिन्छ ।
मन्दिरमा पुग्ने करिब ३ किलोमिटर सडक कमजोर हुँदा श्रद्धालु र पर्यटकले समस्या झेल्दै आएका छन् । सडक स्तरोन्नतिको काम अघि बढेसँगै खाँडादेवीको धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय व्यापार विस्तार तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved