एचपीभी खोप
विराटनगर । कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रमलाई नियमित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। साथै प्रदेशलाई पूर्णखोप सुनिश्चित र दिगो प्रदेशका रूपमा प्रमाणीकरण गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
प्रदेश खोप समन्वय समितिको बैठकले चालु आर्थिक वर्षभित्र विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रमलाई संस्थागत गर्ने, लक्षित समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउने र आगामी चैतभित्र कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेशका रूपमा घोषणा गर्ने निर्णय गरेको छ।
माघ २३ गते प्रदेश खोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेको अध्यक्षतामा तथा कोशी प्रदेश स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एचपीभी खोप कार्यक्रम, पूर्णखोप सुनिश्चितता तथा पोलियो ट्रान्जिसन योजनासम्बन्धी विषयमा विस्तृत छलफल भएको हो।
बैठकमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले एचपीभी खोपको महत्व, लक्षित समूह, कार्यक्रम सञ्चालन विधि तथा अपेक्षित प्रभावबारे प्रस्तुतीकरण दिएका थिए। त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन भरत भण्डारीले कोशी प्रदेशको समग्र खोपको अवस्था, उपलब्धि, चुनौती र आगामी रणनीतिबारे विस्तृत प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।
बैठकले कोशी प्रदेशमा एचपीभी खोप सञ्चालनका लागि आवश्यक पूर्वतयारी, खोप तथा खोप सामग्रीको आपूर्ति र वितरण सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। विद्यालय केन्द्रित नियमित खोप कार्यक्रममार्फत कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीको पहिचान गरी गुणस्तरीय खोप उपलब्ध गराउने निर्णय गरिएको छ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला खोप समन्वय समितिहरूलाई स्थानीय तह, विद्यालय, संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी सूचना सञ्चार र परिचालनका गतिविधि तीव्र बनाउने निर्देशन दिइएको छ। सामाजिक विकास मन्त्रालयमार्फत शिक्षा विकास तथा समन्वय इकाइ, निजी तथा सामुदायिक विद्यालयसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकका निर्णयअनुसार विद्यालयहरूले प्रत्येक वर्ष पुसभित्र कक्षा ६ मा अध्ययनरत छात्राको यथार्थ विवरण नजिकको स्वास्थ्य संस्थामा उपलब्ध गराउनेछन्। शैक्षिक क्यालेन्डरमा माघ अन्तिम हप्तादेखि फागुन १० भित्र एचपीभी खोप सञ्चालनको तालिका समावेश गरिनेछ। विद्यालय नर्स वा फोकल शिक्षक तोकी खोप कार्यक्रमको व्यवस्थापन गरिने व्यवस्था पनि मिलाइनेछ।
साथै सञ्चार माध्यममार्फत खोपको महत्व, लक्षित समूह, अभियान अवधि तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी व्यापक रूपमा प्रवाह गरिनेछ। गैरसरकारी संघसंस्थालाई प्रचार-प्रसार र सहयोगका लागि परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले पोलियो उन्मूलन तथा दादुरा- रुबेला निवारणसम्बन्धी राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पोलियो ट्रान्जिसन योजनाअनुसार सर्भिलेन्स प्रणाली सुदृढ गर्ने निर्णय गरेको छ। त्यसका लागि कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, KIOCH बालरोग अस्पताल दमक, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट बालरोग विशेषज्ञलाई प्रदेशस्तरीय सर्भिलेन्स फोकल अधिकृत तोक्न अनुरोध गरिएको छ।
आगामी आर्थिक वर्षदेखि स्वास्थ्य निर्देशनालयमा प्रदेशस्तरीय सर्भिलेन्स अधिकृतको व्यवस्था गरी एचपीभी खोप, सर्भिलेन्स तथा पूर्णखोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट तथा कार्यक्रम आगामी नीति तथा कार्यक्रममा समावेश गर्न स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।
स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै लक्षित सबै किशोरीसम्म खोप पुर्याउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। “पूर्णखोप सुनिश्चित प्रदेशको घोषणा औपचारिकता होइन, नागरिक स्वास्थ्य सुरक्षाको बलियो आधार हो,” उनले भने।
यस्तै स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले एचपीभी खोपलाई अभियानमुखी नभई नियमित प्रणालीमै समेटेर दिगो बनाइने स्पष्ट पारे। उनले लक्षित समूहको शतप्रतिशत पहिचान, प्रभावकारी सूचना-सञ्चार र स्थानीय तहसम्मको सुदृढ समन्वय नै कार्यक्रम सफलताको मुख्य आधार हुने बताए।
View : 125
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved