Biratnagar, Morang, Nepal
सामाजिक सेवा

विराटनगरमा सडक सुरक्षा अभियान : डिभाइडरमा जडान गरियो सोलार रिफ्लेक्टिङ लाईट

-
अखवारका कुरा
११ जेठ २०८३, सोमवार

Advertisement

विराटनगर । सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरको बरगाछीदेखि आयल निगमसम्म सडक डिभाइडरमा सोलार रिफ्लेक्टिङ लाईट जडान गरिएको छ ।
स्थानीय युवा सन्तोष साहको अगुवाइमा जागरुक युवाहरुको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरेर आइतबार साँझ सडक डिभाइडरमा एक दर्जनभन्दा बढी सोलार रिफ्लेक्टिङ लाईट जडान गरेको हो ।
रातिको समयमा डिभाइडर स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै युवाहरुले आफ्नै पहलमा सडक सुरक्षामुखी अभियान सञ्चालन गरेका हुन् । जडान गरिएका सोलार लाईटले अन्धकारमा पनि डिभाइडर टाढैबाट देखिने भएकाले चालकलाई सावधानी अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।

अभियानका अगुवा युवा सन्तोष साहले सडक सुरक्षाका लागि नागरिक तहबाट पनि पहल आवश्यक रहेको बताए । “साना प्रयासले पनि ठूलो सन्देश दिन सक्छ । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वासले यो अभियान थालेका हौं,” उनले भने ।

स्थानीय युवा राज भट्टराईले रातिको समयमा तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण दुर्घटनाको सम्भावना बढी रहने भएकाले यस्ता रिफ्लेक्टिङ लाईट प्रभावकारी हुने बताए । “सडक सुरक्षामा युवाहरु स्वयं सक्रिय हुनु सकारात्मक कुरा हो,” उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले कम दृश्यात्मकताका कारण रातिको समयमा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले सोलार रिफ्लेक्टिङ  लाईट जडान गरिएको बताए ।
“राति डिभाइडर स्पष्ट नदेखिँदा दुर्घटना हुने सम्भावना रहन्छ,” उनले भने, “सोलार रिफ्लेक्टिङ लाईटले चालकलाई टाढैबाट सतर्क गराउन मद्दत गर्नेछ ।”
उनले सडक सुरक्षामा सहयोग पुर्‍याउने युवाहरुको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा आयल निगमदेखि ढाटसम्म थप सोलार रिफ्लेक्टिङ लाईट जडान गर्ने योजना रहेको जानकारी दिए ।

View : 66

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved