Biratnagar, Morang, Nepal
देश

रथ यात्रा

परमार्थ सिंघिया आरती सेवालाई पोखरमल राठी धर्म–संस्कृति पुरस्कार

३१ साउन २०८२, शनिवार

Advertisement

 

विराटनगर – विराटनगर -१ स्थित परमार्थ सिंघिया आरती सेवाले शनिबार पोखरमल राठी धर्म–संस्कृति पुरस्कार प्राप्त गरेको छ। अग्रज पत्रकार एवं साहित्यकार शंकर खरेलको नेतृत्वमा सञ्चालन भएको उक्त आरती सेवा कार्यक्रममा श्री राधाकृष्ण मन्दिर समितिले विशेष समारोहको आयोजना गर्दै १ लाख १ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो।

पुरस्कार धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले प्रदान गरिएको थियो। कार्यक्रमका आयोजकहरूले यसले समाजसेवाको क्षेत्रमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे।

दिवंगत पोखरमल राठीको स्मृतिमा उनका परिवारजनले २०६४ सालमा स्थापना गरेको यो पुरस्कार हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदान हुँदै आएको छ। यस वर्ष पुरस्कार प्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मी, तथा पुरस्कार स्थापनाकर्ता परिवारका प्रतिनिधि उद्योगी एवं समाजसेवी चम्पालाल राठी उपस्थित थिए। सो अवसरमा चम्पालाल राठीसँगै सोहनलाल राठी, हंषराज राठी, जगदिश राठी र हरिवंश राठी पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष राउतले परमार्थ सिंघिया आरती सेवाको योगदान धार्मिक क्षेत्रमा महत्वपूर्ण रहेको बताए। उनले भने, “यस्ता संस्थाले धर्म र संस्कृतिको संरक्षणसँगै समाजिक विकासमा पनि ठूलो भूमिका खेल्छ।”

पुरस्कार ग्रहण गर्दै पत्रकार खरेलले प्राप्त रकम सिंघिया नदीको बीच भागमा निर्माण हुँदै गरेको ३५ फिट अग्लो कैलाशपति महादेव मूर्तिको निर्माणमा खर्च गरिने घोषणा गरे। सो मूर्ति निर्माणको लागत करिब १५ लाख रुपैयाँ अनुमान गरिएको छ। यसअघि नै महासंघ अध्यक्ष राउतले मूर्ति निर्माण सहयोग स्वरूप १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरिसकेका थिए।

परमार्थ सिंघिया आरती सेवा विराटनगर–१ को परोपकार घाटमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। प्रत्येक शुक्रबार साँझ आयोजना हुने आरती कार्यक्रममा देशका विशिष्ट व्यक्तित्वहरू समेत सहभागी हुने गरेका छन्।

साथै, भारतका शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साउन १३ गते नागपञ्चमीको अवसरमा महादेव मूर्तिको शिलान्यास गरिसकेका छन्।

View : 50

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved