Biratnagar, Morang, Nepal
देश

बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

-
अखवारका कुरा
११ असार २०८३, बिहिवार

Advertisement

बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ ।

अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् ।

पुरुषहरु (हलि बाउस्या) जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु (रोप्न्यारी) बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न निद्रा,असारे कामको चटारो किसानको लागी परम्परा र संस्कृति बनेको छ ।

असारे रोपाईँ केवल कृषि कार्य मात्रै नभई, बाजुराको संस्कृति र जीवनशैलीसंग गाँसिएको परम्परा समेत हो।खेतमा काम गर्ने क्रममाः गाईने असारे गीत, रमाइला भाका र सामुहिक सहभागीताले रोपाईँलाई उत्सवमय बनाउने गर्दछ । हिलोमा रमाउँदै काम गर्ने किसानहरुको अनुहारमा देखिने उत्साहले श्रमलाई पनि आनन्दमय बनाएको हुन्छ ।

यहाँका किसानहरुलाई रोपाईँको चटारोले राम्रोसँग बस्न,सुत्न र खान समेत फुर्सद छैन् । हली,बाउस्या र रोपन्यारीको सामुहिक सहभागीताले खेतबारी निकै चाखलाग्दा देखिने गरेका छन् । साथमा रोप्न्यारीले धान रोप्दै गर्दा गाईने गीतका भाकाले झनै रोपाईँ क्षेत्रको वातावरण आनन्दित हुन्छ । साथै भेना, साली, देवर, भाउजू बिच खेतमै हिलो छ्याप्दै रमाइलो हुने गर्छ ।

बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ की स्थानीय कृषक जुना पाध्यायले रोपाईँ परम्परागत संस्कृति भएकोले हरेक बर्ष उत्साहका साथ रोपाईँ हुने गरेको बताईन् ।

उनले भनिन्,‘असारको महिना फुर्सद हँुदैन् । एकातिर खेतमा रोपाईँसंगै कोदो सार्ने कामको चटारो हुन्छ । महिनाभरी खेत जोत्न,रोप्न, कोदो सार्ने काममा व्यस्त हुन्छौँ।’

किसानी मान्छेको लागि असारको महिना मेहेनत नगरे पछि खानमा समेत समस्या हुने गरेको उनको भनाई छ । रोपाईँ परम्परा र संस्कृति भएकाले यसबेला हिलोमैलो, भोक, घाम पानी कसैको प्रभाव नहुने स्थानीयको भनाई छ । रोपाईँ स्थानीयको रहर नभई बाध्यता समेत हो । यहाँका कृषकको मुख्य पेशा नै कृषि भएकोले यो पेशा अनिवार्य मानिन्छ ।

खेतमा कामसंगै रमाइलो गर्ने परम्परागत शैली अझै जीवित छ । पुरुषको काम जोत्ने र खन्ने हुन्छ भने,महिलाको काम बिउ उखेल्ने र रोप्ने हुन्छ । गाउँघरमा रोपाईँलाई श्रमको रुपमा मात्र नभई यसलाई उत्सवको रुपमा समेत लिईने गरेको स्थानीय कृषक मोती पाध्याको भनाई छ । ‘यो हाम्रो परम्परा,संस्कृति र संस्कार हो।यसलाई हामी जीवन्त बनाई राख्छौँ ।’ 

अहिले यहाँका गाउँघर भन्दा पनि खेतबारीमा चहलपहल बढि छ।खेतमा ‘हाहा–होहो’ गर्दै गोरु जोतेको र रोप्न्यारीले रोप्दै भाका हालेर गित गाएको गुञ्जायमान आवाज जताततै सुन्न सकिन्छ । एकता र सहकार्य मजबुत बनाउन,परम्परा र संस्कृतिको संरक्षण गर्न तथा श्रमलाई सहज बनाउन खेतमा असारे भाका गाईन्छ । जसले हरेक रोपाईँलाई अविस्मरणीय र यादगार बनाउने गर्छ ।

रोपाईँः परम्परा र श्रमको उत्सव :

रोपाईँ केवल कृषि उत्पादन मात्र नभई,यो परम्परा र श्रमको उत्सव समेत हो । यसलाई पहाडी क्षेत्रमा परम्परा र श्रमको उत्सवका रुपमा बढि लिइन्छ । धान खेतीको मुख्य चरण, बिउबेडमा उमारिएको बीउ (धान) को बेर्नालाई उपयुक्त समयमा हिलोयुक्त खेतमा सराई गर्नु नै रोपाईँ हो । 

देशभर प्रायः जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भएसँगै रोपाईँको सुरुवाती हुने गर्छ । देशभर अधिकांश स्थानमा धान खेती गर्ने गरिन्छ । मानिसको मुख्य आधारको कृषि पेशा नै धान खेती हो । रोपाईँले कृषि उत्पादनको बढवा गर्न सहजता प्रदान गर्दछ । गाउँघरतिर स्थानीयहरुले एक–अर्कामा (पणिमु) निकालेर रोपाईँ गर्ने गर्छन् । 

ग्रामिण क्षेत्रमा रोपाईँ केवल खेतीपातीको काम मात्र नभई सामाजिक सद्भाव,सहकार्य र सांस्कृतिक परम्परासँग पनि जोडिएको हुन्छ । रोपाईँका बेला असारे भाका गाउने, हिलो खेल्ने तथा सामुहिक भोज गर्ने चलन रहिआएको छ।मौलिक परम्परा,माटोको सुगन्ध,आपसी सम्बन्ध र कृषि कार्यलाई रोपाईँले नयाँ जीवन प्रदान गर्छ। लाग्छ,‘रोपाईँ हाम्रो अभिन्न अंग हो।हाम्रो हाँसो र माटोको सुगन्ध हो ।’

परम्परा र श्रमलाई जीवन्त बनाई राख्न रोपाईँले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ । बीउलाई मात्र केवल जमिनमा रोप्नु होईन्,आफ्नो पहिचान र मेहेनतको फल समेत फलाउनु हो । रोपाईँले ग्रामिण भेगको बस्तुस्थिति,यहाँको यथार्थ जीवनशैली,महिला र पुरुषको श्रम र कृषि कार्यलाई चित्रण गरेको पाईन्छ ।

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved